चीनको कूटनीति’: पाकिस्तानसँग सहकार्य, भारतलाई संयमताको सुझाव 

अन्तराष्ट्रिय समाचार

एजेन्सी – चीनले पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेश मन्त्री मोहम्मद इशाक डारको चीन भ्रमणलाई दुई देशबीचको रणनीतिक साझेदारी थप बलियो बनाउने अवसरका रूपमा लिएको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले चीन र पाकिस्तान ‘सर्वकालीन रणनीतिक सहकार्य साझेदार’ भएको उल्लेख गर्दै उच्चस्तरीय भेटघाट र बहुआयामिक सहकार्यलाई थप विस्तार गर्न तत्पर रहेको बताइन्। नेताहरूबीचको सहमति कार्यान्वयन गर्दै रणनीतिक समन्वय र सहकार्यलाई अगाडि बढाउने चीनको चाहना रहेको उनको भनाइ थियो।

चिनियाँ विदेश मन्त्रालयद्वारा सार्वजनिक सूचनाअनुसार चीनको कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका पोलिटब्युरो सदस्य तथा विदेश मन्त्री वाङ यीको निमन्त्रणामा पाकिस्तानी उपप्रधानमन्त्री डार मे १९ देखि २१ सम्म चीनको भ्रमणमा रहनेछन्। भ्रमणका क्रममा क्षेत्रीय सुरक्षासम्बन्धी मुद्दामा गहिरो छलफल हुने र दुई देशबीचको सम्बन्धको सम्पूर्ण आयामको समीक्षा गरिने पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ।

त्यस्तै, भारत–पाकिस्तान सम्बन्धबारे उठेको प्रश्नमा प्रवक्ता माओ निङले चीनको अघिल्लो धारणा दोहोर्‍याउँदै शान्ति र संयमको पक्षमा रहन दुवै देशलाई आग्रह गरिन्। “हामी भारत र पाकिस्तान दुवैसँग संवाद कायम गर्न इच्छुक छौं, संयमता अपनाउँदै दीर्घकालीन युद्धविराम स्थापना गरी क्षेत्रीय शान्ति र स्थायित्व जोगाउनेतर्फ सहकार्य गर्न तयार छौं,” माओले भनिन्।