बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिसका लागि गठित समितिमा डा. पोषराज पाण्डे नियुक्त गर्ने निर्णय गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको प्रस्तावमा डा. पोषराज पाण्डेलाई समितिमा ल्याइएको जनाइएको छ ।
यसअघिको समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र डा. विश्व पौडेल सदस्य तोकिएका थिए । समिति सदस्यबाट डा. विजयनाथ भट्टराईले राजीनामा दिएपछि अधिकारी गभर्नर सिफारिस समितिमानियुक्त भएका थिए । गभर्नर नियुक्त हुने सम्भावना बढेपछि डा. विश्व पौडेलले पनि समितिबाट राजीनामा दिएका थिए । सो कारणले समितिमा एक जना थप गर्नु पर्ने अवस्था सिर्जना भएको थियो । सरकारले रिक्त स्थानमा अर्थविद् डा. पाण्डेलाई नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिएका हुन् ।
निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्त हुन सकेको छैन । अधिकारी सिफारिस समितिमा बस्न अयोग्य रहेको भन्दै सर्वोच्मा रिट पुगेको छ भने विश्व पौडेलविरुद्ध सर्वोच्मा पुगेको रिट दर्ता भएको छैन ।

