‘निरोगात्मक’ र ‘प्रवर्धनात्मक’ जनस्वास्थ्य कार्यक्रम वृद्धि गर्न मिस्टर महानगर प्रतियोगिता आयोजना हुँदै

समाचार समाज

काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ ले ‘हेल्दी बडी, हेल्दी सोसाइटी’ नारासहित ‘फस्ट मिस्टर महानगर वडी विल्डिङ् च्याम्पियनसिप २०८२’ का लागि आवेदन आव्हान गरेको छ ।

६ वटा तौल समूहमा हुने च्याम्पियनसिपमा ५५ किलोग्राम, ६० किलोग्राम, ६५ किलोग्राम, ७० किलोग्राम, ७५ किलोग्राम र ७५ किलोग्रामभन्दा माथि तौल भएका बडी बिल्डरले आवेदन दिन सक्ने छन् ।

महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिका संयोजक एवं वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जनका अनुसार प्रतियोगितामा नेपाली नागरिक इच्छुक सबैले भाग लिन पाउने छन् ।

उनले भने, ‘आरोग्य जीवनका लागि खेलमा पालना गर्ने अनुशासनलाई सामान्य जनजीवनमा अभ्यस्त गराउन चाहन्छौँ । यसमा खानपिन, व्यायाम, आराम, निद्राजस्ता स्वस्थ्य सरीरका लागि चाहिने सबै पक्षको सन्तुलन मिलाइएको हुन्छ । यसो हुनु भनेको सामान्यतया अस्पताल जानु नपर्ने अवस्था पनि हो । यो सन्देश प्रवाहका लागि च्याम्पियनसिप आयोजना गरिएको हो ।’

पहिलो च्याम्पियनसिप पुरुषहरुका लागि आयोजना गरिएको हो । यसमा क्रमशः महिलाहरुलाई पनि सहभागी गराउँदै लैजाने योजना छ । महर्जनले सहभागिताको आगामी योजना सुनाएका छन् ।

६ क्याटागोरीका हरेक प्रथम, द्वितीय र तृतीयले क्रमशः ७५ हजार रुपैयाँ, ५० हजार रुपैयाँ र २५ हजार रुपैयाँ नगद प्राप्त गर्ने छन् ।

वल्र्ड बडी विल्डिङ् फेडेरेसनका अन्तरराष्ट्रिय निर्णायक एवं च्याम्पियनसिपका संयोजक ईश्वर श्रेष्ठका अनुसार प्रिजजिङ् राउण्डमा हरेक तौल समूहबाट ६÷६ जना खेलाडी छनोट गरिनेछ । हरेक समूहका ६ जनाबिचको प्रतियोगिताबाट पहिलो, दोस्रो र तेस्रो स्थानका लागि विजेता घोषणा हुनेछ । हरेक समूहबाट प्रथम स्थान हासिल गर्ने खेलाडीहरुका बिचमा मिस्टर महानगरपालिकाका लागि अन्तिम प्रतिस्पर्धा हुनेछ ।

खेलका सबै विधाका खेलाडीहरुका लागि दिइने पुरस्कार राशी १४ लाख रुपैयाँ रहेको छ । यसमा मिस्टर महानगरले ५ लाख ७५ हजार रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गर्ने छन् ।

खेल सञ्चालनका लागि नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ र काठमाडौँ शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोग रहनेछ । वडासँग यसरी सहकार्य गर्न पाएकोमा खेल खेलको प्रवर्धनमा ठुलो योगदान भएको फिटनेस संघका अध्यक्ष सुरेश सुवेदीले प्रतिक्रिया दिएका छन् ।

उनीसँगै व्यायाम व्यवसायी संघका अध्यक्ष शोभा गुरुङ्ले, यो प्रतियोगिताले सहरी निष्क्रिय आचरणमा सुधार आउने अपेक्षा राखेका छन् ।