पहलगाम आक्रमणपछि भारतको पाकिस्तानमा ‘अपरेशन सिन्दूर’

अन्तराष्ट्रिय समाचार

काठमाडौं, वैशाख २५ – भारतको सुरक्षा निकायले बुधबार बिहान पाकिस्तान र पाकिस्तान अधीकृत कश्मीर (PoK) मा रहेका आतंकवादी संरचनामाथि लक्षित प्रहार गर्दै ‘अपरेशन सिन्दूर’ सञ्चालन गरेको छ। केही दिनअघि पहलगाममा भएको आतंकी आक्रमणमा २५ भारतीय र एक नेपाली नागरिकको ज्यान गएपछि भारतले यो जवाफी कारबाही गरेको हो।

भारतीय रक्षा मन्त्रालयका अनुसार सो कारबाहीमा कुल नौ स्थानमा लक्षित आक्रमण गरिएको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यी कारबाहीहरू ध्यानपूर्वक, मापन गरिएका र स्थिति नबिगार्ने खालका थिए।”

भारतले प्रहारका लागि छानिएका स्थानहरू आतंकवादी समूहहरूको क्याम्प रहेको बताएको छ, जहाँ भारतमाथिका आक्रमणहरूको योजना बनाइन्थ्यो। मन्त्रालयले प्रष्ट पारेको छ कि यो कारबाही पाकिस्तानको सैन्य संरचनामाथि लक्षित थिएन, र युद्धको अवस्था सिर्जना नगर्ने गरी काम गरिएको हो।

रक्षा मन्त्रालयले थप स्पष्ट पारेको छ कि यो कदम हालैको पहलगाम घटनामा संलग्नलाई जवाफ दिन र दोषीलाई न्यायको कठघरासम्म ल्याउने भारतको प्रतिबद्धताको हिस्सा हो।