गभर्नर हराएको देश: आजै घोषणा हुने कि कुर्सी फेरि खाली?

अर्थ समाचार

आज सिंहदरबारमा बस्न लागेको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरको टुंगो लगाउन सक्ने राजनीतिक अनुमानहरू तीव्र बनेका छन्। यद्यपि सिफारिस समितिको बैठक नबसेसम्म प्रक्रिया अगाडि बढ्न नसक्ने प्राविधिक पाटो अझै बाँकी छ।

शक्तिशाली सत्तागठबन्धनभित्र गभर्नरको कुर्सी नेपाली कांग्रेसको भागमा परेको अनुमान गरिएको छ। त्यसैका आधारमा कांग्रेस सभापति शेरबहादुर देउवाले केही समयअघि डा. गुणाकर भट्टलाई निजी निवासमा बोलाएर अर्थतन्त्रबारे बृहत जानकारी लिएका थिए। त्यसपश्चात उनले कार्यकारी निर्देशक पदबाट राजीनामा दिए।

तर, कामु गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले उक्त राजीनामा स्वीकृत नगरी नयाँ मोड सिर्जना गरेकी छन्। एमाले कोटाबाट कामु बनेकी ढुंगाना अहिले कांग्रेस नेताहरूसँग सम्पर्कमा रहेको जानकारी बाहिरिएको छ। गभर्नर बन्नकै लागि कांग्रेस मन्त्रीहरूसँग भेटघाट मिलाउने प्रयास भइरहेको स्रोतले जनाएको छ। यसबीच उनले डेपुटी गभर्नर पदसमेत खाली बनाएर आफ्नो सम्भावना बलियो बनाउने रणनीति अपनाएको बुझिएको छ।

गत आइतबार, अर्थमन्त्रालयमा डा. ढुंगाना र अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच गोप्य छलफल भएको थियो। स्रोतका अनुसार, पौडेलले डा. भट्टको राजीनामा तुरुन्त स्वीकृत गर्न स्पष्ट निर्देशन दिएका थिए।

यसैबीच, गभर्नरको दौडमा डा. भट्ट र डा. ढुंगानासँगै , ज्ञानेन्द्र ढुंगाना, चिन्तामणि देवकोटा, बमबहादुर मिश्र, प्रकाशकुमार श्रेष्ठ र सुशील भट्टलगायतका नामहरू पनि चर्चामा छन्।

यद्यपि समाचार तयार पार्दासम्म सिफारिस समितिको बैठक बस्न सकेको छैन। यदि बैठक मन्त्रिपरिषद् बैठकअघि सम्पन्न भयो र नाम पेस गरियो भने गभर्नरको नियुक्ति आजै हुन सक्छ। अन्यथा प्रक्रिया केही दिन पछाडि धकेलिनेछ।