काठमाडौं – विदेशबाट नेपाल आउने रेमिट्यान्सलाई सहज, सरल र विश्वासिलो बनाउन माछापुच्छ्रे बैंक लिमिटेडले मलेसियास्थित सि.बि.एल. मनी ट्रान्सफरसँग औपचारिक सम्झौता गरेको छ।
माछापुच्छ्रे बैंकले मलेसियामा रहेका नेपाली कामदारलाई लक्षित गरी रेमिट्यान्स सेवा विस्तार गर्ने उद्देश्यले सि.बि.एल. मनी ट्रान्सफरसँग सहकार्य गर्दै २०८२ साल वैशाख १५ गतेदेखि विधिवत सेवा शुरु गरेको हो।
सम्झौतामा सि.बि.एल. मनी ट्रान्सरका प्रमुख कार्यकारी अधिकृत मोहम्मद सैदुर रहमान फराजी र माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार अब मलेसियामा रहेका नेपालीहरुले सि.बि.एल. मनी ट्रान्सफरका १५ शाखा र ‘सिटी रेमिट’ मोबाइल एपमार्फत पैसा पठाउन सक्नेछन्। पठाइएको रकम नेपालमा माछापुच्छ्रे बैंकका १६५ शाखा, ९९ शाखारहित बैंकिङ्ग सेवा केन्द्र, ११ एक्सटेन्सन काउण्टर र २० हजारभन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत सहजै भुक्तानी लिन सकिनेछ।
यसबाहेक, ‘सिटी रेमिट’ एप तथा सि.बि.एल. मनी ट्रान्सफरमार्फत पठाइएको रकम नेपालका जुनसुकै बैंक खातामा तत्काल जम्मा हुने व्यवस्था मिलाइएको बैंकले जानकारी दिएको छ। माछापुच्छ्रे बैंकले मलेसियामा रहेका नेपाली कामदारलाई थप सहज सेवा प्रदान गर्न मलेसियाकै मोबाइल नम्बरमा आधारित मोबाइल बैंकिङ्ग सेवा पनि उपलब्ध गराएको छ।
स्थापना कालदेखि नै प्रविधिमा आधारित सेवा विस्तारमा प्रतिबद्ध माछापुच्छ्रे बैंकले पूर्वदेखि पश्चिम तथा हिमाल, पहाड र तराई क्षेत्रभर आफ्ना १६५ शाखा, ९९ शाखारहित सेवा केन्द्र, ११ एक्सटेन्सन काउण्टर र २०४ वटा एटीएममार्फत १७ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ।
