आइतबार, अर्थ मन्त्रालयमा एक गोप्य भेटघाट भयो — उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कामु गभर्नर नीलम तिम्सिना ढुंगानालाई एक स्पष्ट निर्देशन दिए: डा. गुणाकर भट्टको राजीनामा तुरुन्त स्वीकृत गर।
भित्रभित्रै चलेको यो खेल सार्वजनिक तब भयो जब सत्तारूढ गठबन्धनका दुई मुख्य दल, नेपाली कांग्रेस र नेकपा (एमाले), डा. भट्टलाई राष्ट्र बैंकको गभर्नर बनाउने सहमतिमा पुगेको खबर बाहिरियो। यसैका बीच, डा. भट्टले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएको पुष्टि भयो।
तर ट्विस्ट यहाँ छ — कामु गभर्नर ढुंगानाले अहिलेसम्म भट्टको राजीनामा स्वीकृत गरेकी छैनन्। अर्थ मन्त्रालय भित्रबाट निस्किएको संकेतअनुसार, पौडेलको कडा निर्देशनपछि अब ढुंगाना स्वीकृतिमा अघि बढ्न बाध्य हुने देखिएको छ।

शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच गोप्य छलफल भएको थियो। त्यसै छलफलमा डा. भट्टलाई गभर्नर बनाउने अन्तिम सहमति जुटेको थियो।
