सेन्ट्रल बैंकको सत्तरी वर्ष: अबको यात्रा डिजिटल करेन्सी 

अर्थ समाचार

काठमाडौं — नेपाल राष्ट्र बैंक आज आफ्नो ७०औँ वार्षिकोत्सव मनाउँदै ७१औँ वर्षमा प्रवेश गरेको छ।
वि.सं. २०१३ साल वैशाख १४ गते स्थापना भएको केन्द्रीय बैंकले विगत सात दशकमा देशको वित्तीय क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गरिएको छ।

राष्ट्र बैंकका अनुसार अहिले देशका सबै ७५३ वटै स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार भइसकेको छ। हालै मात्र बझाङ जिल्लाको साइपाल गाउँपालिकामा एभरेष्ट बैंक लिमिटेडले शाखा विस्तार गरेसँगै यो लक्ष्य पूरा भएको हो। राष्ट्र बैंकले सुदृढ, समावेशी र दिगो बैंकिङ्ग प्रणाली निर्माण गर्ने आफ्नो दीर्घकालीन लक्ष्यलाई थप बलियो बनाउँदै आएको छ।

यस अवधिमा बैंकिङ्ग क्षेत्रमा डिजिटल कारोबारले पनि उल्लेख्य फड्को मारेको छ। बैंक तथा वित्तीय संस्थाहरूमा प्रविधिको प्रयोग बढेसँगै डिजिटल भुक्तानी प्रणाली लोकप्रिय बन्दै गएको राष्ट्र बैंकले जनाएको छ। बैंकिङ्ग तथा वित्तीय प्रणालीको स्थायित्व, तरलता प्रवर्द्धन, सुरक्षित तथा दक्ष भुक्तानी प्रणालीको विकास, नियमन, निरीक्षण र सुपरिवेक्षणमा समेत राष्ट्र बैंकले सशक्त पहल गरेको छ।

वार्षिकोत्सवका अवसरमा नेपाल राष्ट्र बैंककी कार्यवाहक गभर्नर नीलम ढुंगानाले डिजिटल मुद्रा प्रणाली लागू गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिइन्।
उनले आन्तरिक माग अपेक्षाकृत नबढ्नु तथा बाह्य क्षेत्रमा देखिएका जटिलताले आगामी दिनमा थप चुनौती आइलाग्न सक्ने संकेत समेत गराइन्।