नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज आइतबार परिवारसहित थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन्। उनीसँगै उनकी पत्नी एवं परराष्ट्रमन्त्री डा. आरजु राणा, छोरा जयवीर देउवा, बुहारी शिवाना र नाति भानु पनि साथमा छन्।
देउवाको स्वास्थ्य सम्बन्धी नियमित फलोअप उपचार सिंगापुरमा हुने बताइएको छ। तर बैंकक प्रस्थानको प्रमुख कारण भने थाइल्याण्डमा छोटो बसाइपछि सिंगापुर जाने कार्यक्रम रहेको पारिवारिक स्रोतले जनाएको छ। सिंगापुर पछिल्लो समय नेपाली धनीवर्ग तथा नेताहरूको स्वास्थ्य जाँच र भेटघाटको केन्द्रको रूपमा परिचित हुँदै गएको छ।
यसैबीच, मन्त्री आरजु भने संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (UNESCAP) को ८१औँ सत्रमा सहभागी हुन सोमबारदेखि सुरु हुने कार्यक्रमका लागि बैंकक गएकी हुन्।

देउवाको अनुपस्थितिमा नेपाली कांग्रेसको कार्यबाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काले सम्हाल्नेछन्।
