गभर्नरको कुर्सीको सस्पेन्स, थ्रिलर अनि ड्रामा : के आज राष्ट्र बैंकले पाउला त १८ औ क्याप्टेन? 

अर्थ बैंक/वित्त समाचार

आज सोमबार दिउँसो ३ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्नेछ। बैठकमा समसामयिक राजनीतिक, आर्थिक तथा प्रशासनिक विषयहरूबारे छलफल हुने अपेक्षा गरिएको छ। स्रोतका अनुसार, नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिको विषय पनि सम्भावित एजेन्डाका रूपमा छलफलमा पर्न सक्ने चर्चा चलिरहेको छ। गभर्नर चयनका लागि सिफारिस समितिले पेश गरेको नामहरूको सूचीकै सन्दर्भमा मन्त्रिपरिषद्ले आवश्यक निर्णय लिनसक्ने अनुमान गरिएको छ। यद्यपि अहिले यो समाचार तयार पारुन्जेल सम्म सिफारिस समितिको बैठक बस्न सकेको छैन |

गभर्नरको कुर्सी खाली

पूर्व गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २४ मा सकिएको हो। उनले दुई दिन अघिनै, चैत २२ गतेदेखि बिदा लिएर कार्यभार हस्तान्तरण गरेका थिए। तर, राष्ट्र बैंक ऐनअनुसार गभर्नरको कार्यकाल सकिनु अगावै नयाँ नियुक्ति हुनुपर्ने प्रावधान भए पनि सरकारले अहिलेसम्म नयाँ गभर्नर ल्याउन सकेको छैन।

सरकारले गभर्नर नियुक्तिको जिम्मा अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा गठित सिफारिस समितिलाई दिएको छ। समिति सदस्यमा छन्—पूर्व गभर्नर विजयनाथ भट्टराई र अर्थविद् डा. विश्व पौडेल। समितिले कम्तीमा एक जना डेपुटी गभर्नरसहित तीन जनाको नाम सिफारिस गर्नुपर्नेछ।

गभर्नर बन्ने होडमा धेरै नाम चर्चामा छन्—ज्ञानेन्द्र ढुंगाना, निलम ढुंगाना, रामेश्वर खनाल, चिन्तामणि देवकोटा, बमबहादुर मिश्र, डा. गुणाकर भट्ट, प्रकाशकुमार श्रेष्ठ र सुशील भट्ट जस्ता नामहरू अगाडि आएका छन्। तर, अहिलेसम्म सिफारिस समितिले मन्त्रिपरिषद्मा औपचारिक रूपमा नाम पेस गरेको छैन।

घोषणा आजै होला त?

यदि सिफारिस समितिले बैठकअघि नाम पेस गर्न भ्यायो भने गभर्नरको नियुक्ति आजै टुंगिन सक्छ। नत्र भने प्रक्रिया अझै केही दिन लम्बिन सक्छ। राजनीति मिल्यो भने एकैछिनमा घोषणा हुन्छ, नभए ‘कुर्सी’ केही दिन अझै खाली बस्न सक्छ।