प्रहरी निरीक्षक दिवस कुँवर: सलाम नमस्ते!

अपराध तथा सुरक्षा विविध समाचार

इटहरी, चैत २५ । सुनसरीको धरान–६ स्थित पाँचकन्या सामुदायिक वनको गहिरो जंगलभित्र एक रहस्यमय दृश्य देखियो—अर्धनग्न अवस्थामा, झोलाको डोरीले घाँटी बेरेर रुखको हाँगामा बाँधिएको एक अपरिचित महिलाको शव। यो दृश्य केवल रहस्यमय थिएन, प्रहरीका लागि चुनौती पनि थियो।

तर, प्रहरीले आफ्नो संयन्त्र परिचालन गर्‍यो। तीन दिनभित्रै—चैत २८ गते—शवको पहिचान भयो। मृतक धनकुटा महालक्ष्मी नगरपालिका–२ घर भई इटहरी–२ बस्दै आएकी ३४ वर्षीया चुनकुमारी दाहाल बुढाथोकी थिइन्।

शवको पहिचानसँगै अनुसन्धानले गति लियो। एकपछि अर्को तथ्य खुल्दै गयो। प्रहरीको प्रारम्भिक निष्कर्ष: वैदेशिक रोजगारीमा रहेका श्रीमान् र स्वदेशमै रहेकी श्रीमतीबीचको सम्बन्ध चिसिएको थियो। आपसी मनमुटाव, अविश्वास र सम्बन्धविच्छेदको प्रस्ताव नस्वीकृत भएपछि हत्या योजनाबद्ध ढंगले गरिएको थियो।

यो निचोडसँगै प्रहरीले कोरियाबाट श्रीमान् प्रेमबहादुर बुढाथोकीलाई नेपाल ल्याएर अनुसन्धान अगाडि बढायो। अनुसन्धानको फलस्वरूप गत बिहीबार प्रहरीले हत्यामा संलग्न ६ जनालाई सार्वजनिक गर्‍यो।

सार्वजनिक हुनेमा श्रीमान प्रेमबहादुर बुढाथोकीसहित मोरङका ढकेन्द्र बुढाथोकी, उनकी श्रीमती सृष्टि बुढाथोकी, योगेन्द्र गौतम, डेनु गौतम र केशवराज दाहाल रहेका छन्। यस्तै, भारतीय नागरिक राजु थापा मगर फरार छन् भने उनको खोजी जारी छ।

यस रहस्यपूर्ण घटनाको अनुसन्धानमा निर्णायक भूमिका खेलेका थिए, इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक दिवस कुँवर। २०७१ सालमा प्रहरी सेवा प्रवेश गरेका कुँवर २०७७ सालमा निरीक्षक बनेका थिए।

उक्त घटनाको सफल अनुसन्धान र अभियुक्त पक्राउमा उल्लेखनीय भूमिका खेलेका कारण कोशी प्रदेश प्रहरी कार्यालयले उनलाई २०८१ सालको चैत महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ।

प्रवक्ता भीमबहादुर दाहालका अनुसार, विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको कडाईका साथ पालना गर्दै कुँवरले उच्च मनोबल र साहस देखाएका थिए।

त्यसैगरी, मोरङको जहदा गाउँपालिका–७ स्थित एक घरबाट १०८८ किलोग्राम गाँजा बरामद गरी उमेश कामतलाई पक्राउ गरेका प्रहरी सहायक निरीक्षक नवराज कार्कीलाई पनि सोही महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरिएको छ। कार्की प्रहरी चौकी अमाहीवरयातीमा कार्यरत छन्।

कोशी प्रदेश प्रहरी कार्यालयले प्रहरी कर्मचारीको मनोबल उच्च बनाउन प्रत्येक महिनाको उत्कृष्ट प्रहरी घोषणा गर्ने परम्परा कायम राखेको छ।