ज्ञानेन्द्र शाहको नयाँ वर्ष सन्देश : राष्ट्रको पुनःसंरचनाका लागि प्रस्ताव

राजनीति समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको समग्र संरचना जनभावनाअनुसार पुनःसमायोजन गर्नुपर्ने प्रस्ताव गरेका छन्। नयाँ वर्षको अवसरमा जारी सन्देशमार्फत् उनले देशको वर्तमान अवस्था गम्भीर रहेको उल्लेख गर्दै, त्यसबाट मुक्तिका लागि राजनीतिक तथा आर्थिक मार्गचित्र प्रस्तुत गरेका छन्।

शाहले मुलुकलाई अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट उकास्न राजसंस्थाले सधैं योगदान दिँदै आएको दाबी गर्दै वर्तमान अस्थिरता, भ्रष्टाचार, बेरोजगारी, कमजोर औद्योगिक उत्पादन, गिर्दो अर्थतन्त्र, बढ्दो राष्ट्रिय ऋण, रक्षात्मक राष्ट्रियता र जनस्तरमा फैलिएको निराशालाई प्रमुख चुनौतीका रूपमा औंल्याएका छन्।

“हाम्रो आह्वान कुनै विचारधारा वा स्वार्थपूर्तिका लागि होइन, समग्र राष्ट्र र जनताको सम्प्रभूताका लागि हो,” शाहले भने। साथै, उनले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दिव्य उपदेशलाई राज्यसत्ताको मूल मन्त्र बनाउनु पर्ने प्रस्ताव पनि राखेका छन्।