भन्छन् हामी सबैले हरेक दिन जसो पढ्नु पर्ने एउटा समाचार हो, अमेरिकी डलरको मूल्य वृद्धि । हरेक दिन टिभी, रेडियो, पत्रिका अनलाइन सबैले लेख्छन् आज अमेरिकी डलरको मूल्य वृद्धिले रेकर्ड नाघ्यो । अझ डोनाल्ड ट्रंप अमेरिकाको राष्ट्रपति निर्वाचित भएपछि त् झन् अमेरिकी डलर बुर्कुसी मारेर दौडीरहेको छ ।
अघिल्लो वर्षको चैत्र महिनासम्म १ अमेरिकी डलर बराबर १३३ नेपाली रुपैयाँ थियो, जुन यो बर्षको चैत्र सम्ममा करिब १३९ रुपैयाँ पुगिसकेको छ ।
नेपाली मुद्रा र अमेरिकी डलरको विनिमयदर कसरी निर्धारण हुन्छ?
नेपालको रुपैयाँ अमेरिकी डलरसँग प्रत्यक्ष रूपमा pegged छैन, अर्थात् स्वतन्त्र रूपमा कारोबार गरिँदैन। यसको सट्टा, १ भारतीय रुपैयाँ बराबर १.६ नेपाली रुपैयाँको स्थायी विनिमय दर ३२ वर्षदेखि कायम छ। भारतीय मुद्रा अमेरिकी डलरसँग कमजोर हुँदा नेपाली मुद्रा पनि त्यसको प्रभावमा आउँछ।

अर्थात भारतीय रुपिया डलरको तुलनामा जति जति चिप्लिन्छ, बिचरा हाम्रो नेपाली रुपैया त्यसै त्यसै उधो मुन्टो लाउदै भिर बाट खसेझै खस्न बाध्य हुन्छ ।
बढ्दो विनिमय दरले अर्थतन्त्रलाई कसरी असर गरिरहेको छ?
नेपालको अर्थतन्त्र अधिकांश आयातमा निर्भर छ। डलरको वृद्धिले आयात खर्च बढाउँछ, जसले गर्दा देशमा महँगी थप चर्किन्छ। नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो छ महिनामा ८२२ अर्ब रुपैयाँ बराबरको सामान आयात गरिएको छ, जसमा ५०.२% कच्चा पदार्थ, ८.८% पूँजीगत सामान, र ४१% उपभोग्य वस्तु रहेका छन्।
यसरी डलरको वृद्धिले पेट्रोलियम पदार्थ, कृषिका लागि आवश्यक मल, खाद्य वस्तु लगायत सबै वस्तु महँगो बनाउँछ। यसका अतिरिक्त, भारतमा वस्तु महँगो हुँदा नेपालमा समेत मूल्य वृद्धिको असर पर्ने सम्भावना रहन्छ। अहिले नेपालमा औसत मुद्रास्फीति ५.४१% रहेको छ, भने खाद्य वस्तुहरूको मूल्य ७.६७% बढेको छ। तरकारीहरूको मूल्य मात्र २९% ले बढेको छ।
निर्यात र डलर वृद्धिको प्रभाव
सैद्धान्तिक रूपमा, डलरको वृद्धि निर्यातका लागि सकारात्मक हुन सक्छ, किनभने नेपाली वस्तुहरू विदेशी बजारमा सस्तो देखिन्छ। तर नेपालले अधिकांश व्यापार भारत र चीनसँग गर्ने भएकाले यसको फाइदा सीमित रहन्छ। निर्यात लागत बढ्नाले नेपाली उत्पादनहरूको प्रतिस्पर्धात्मक क्षमता घट्न सक्छ। तथ्यांक अनुसार, सन् २०२१/२२ मा निर्यात २०० अर्ब रुपैयाँ पुगेको भए पनि त्यसपछि घटेर २०२३/२४ मा १५२ अर्ब रुपैयाँमा झरेको छ।
यद्यपि, आईटी क्षेत्र भने डलर वृद्धिबाट लाभ उठाइरहेको देखिन्छ। डिजिटल सेवा आधारित निर्यातमा कच्चा पदार्थको मूल्य वृद्धिको असर पर्दैन। पछिल्लो अध्ययन अनुसार, नेपालले सन् २०२२/२३ मा ५१५ मिलियन डलर बराबरको आईटी सेवा निर्यात गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ६४% वृद्धि हो।
बढ्दो डलरको असर रेमिट्यान्समा डलरको वृद्धिले रेमिट्यान्स आप्रवाहमा पनि प्रभाव पार्न सक्छ । विगत वर्षहरूमा डलरको मूल्य वृद्धि हुँदा रेमिट्यान्स भित्र्याउने रकम पनि उल्लेख्य मात्रामा बढेको थियो। सन् २०२१/२२ र २०२२/२३ मा रेमिट्यान्सको डलर मूल्य १ अर्ब डलरभन्दा बढीले बढेको थियो ।
बढ्दो डलर र विदेशी ऋणको बोझ
अमेरिकी डलरसँग तुलना गर्दा नेपाली रुपैयाँको मूल्य घट्दा एक महिनामै वैदेशिक ऋण झन्डै ३० अर्ब रुपैयाँले बढेको छ । चालु आर्थिक वर्षको आठ महिनामा (साउनदेखि फागुनसम्म) रुपैयाँको अवमूल्यनका कारण वैदेशिक ऋणको भार ६६ अर्ब २९ करोड रुपैयाँले बढेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
पछिल्लो चार वर्षमा मात्र, नेपालले कमजोर विनिमय दरका कारण करिब ५० अर्ब रुपैयाँ बराबरको विदेशी विनिमय घाटा बेहोरेको छ।डलरको निरन्तर वृद्धिले नेपालमा महँगी, आयात लागत वृद्धि, विदेशी ऋण भुक्तानीको समस्या, र लगानीकर्ताहरूको विश्वासमा असर पारिरहेको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले हरेक सभा समारोहहरूमा नेपालको अर्थतन्त्र लयमा फर्किसकेको दाबी गर्दै आएका छन्, त्यसो भए त डलर ले बुर्कुसी मार्नु नपर्ने हो – यस पटक बजेट निर्माण गर्दा अर्थमन्त्री पौडेलले डलर को मूल्य वृद्धि लाई नेल कस्ने उपाय खोज्ने हो की ?
