काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि पाँच जनाको नाम सर्टलिस्ट गरिएको छ। सीईओ नियुक्तिका लागि गठित सिफारिस समितिले चुडामणी चापागाई, नारद कुमार लईंटेल, पूर्ण प्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्याललाई छनोट गरेको हो।
सिफारिस समितिले उम्मेदवारहरूको शैक्षिक योग्यता र कार्यानुभवका आधारमा पाँच जनालाई अन्तर्वार्ताका लागि छनोट गरेको जनाएको छ। चयन भएका उम्मेदवारहरूलाई व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि चैत ६ गते अर्थ मन्त्रालयमा बोलाइएको छ।
प्रस्तुतीकरण र अन्तर्वार्ताको मूल्याङ्कनका आधारमा उच्चतम अंक प्राप्त गर्ने तीन जनालाई सीईओका लागि सिफारिस गरिनेछ।

नेप्सेको सीईओ पदका लागि १० जनाले आवेदन दिएका थिए। सर्टलिस्टमा परेका पाँच जनासहित युवराज दाहाल, प्रविण अधिकारी, विमल कुमार तिवारी, कृष्णबहादुर कार्की र मुकुन्दराज जोशी पनि प्रतिस्पर्धामा थिए।
सीईओ नियुक्तिका लागि गठित सिफारिस समितिले फागुन १२ देखि फागुन २५ गतेसम्म आवेदन खुला गरेको थियो। समितिमा अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल संयोजक छन् भने सदस्यहरूमा सहसचिव अमृत लम्साल र विज्ञ सदस्य डा. खोमराज खरेल रहेका छन्।
नेप्से सीईओ कृष्णबहादुर कार्कीको कार्यकाल सकिएपछि माघ २५ गतेदेखि पद रिक्त छ। हाल प्रबन्धक निरञ्जन फुयाँलले कामु सीईओको जिम्मेवारी सम्हाल्दै आएका छन्।
