एनसेलको ग्राहकविरोधी नीतिहरूको विषयमा विगतदेखि नै चर्चा हुँदै आएको छ । ग्राहकलाई सस्तो र सुलभ सेवाको भ्रममा राख्दै एनसेलले विभिन्न माध्यमबाट आफ्नो व्यापारिक स्वार्थ पूरा गर्दै आएको जनगुनासो छ । पछिल्लो समयमा, रिचार्जको भ्यालिडिटीलाई सीमित गरेर ग्राहकलाई बारम्बार रिचार्ज गर्न बाध्य बनाउने एनसेलको नीतिले फेरि विवाद सिर्जना गरेको छ ।
पहिले ग्राहकले ५० रुपैयाँदेखि ९९ रुपैयाँसम्मको रिचार्ज गर्दा एनसेलले ३० दिनसम्मको भ्यालिडिटी उपलब्ध गराउँथ्यो । १००० रुपैयाँ भन्दा बढीको रिचार्ज गर्दा त्यसको भ्यालिडिटी ७३० दिनसम्म हुन्थ्यो भने अहिले त्यो घटेको छ । एनसेलले हाल ५० रुपैयाँको रिचार्जमा ७ दिन, १०० रुपैयाँमा १४ दिन, २ सयमा २८ दिन, ५ सयमा ५० दिन र १ हजार रुपैयाँको रिचार्जमा ९० दिन मात्र भ्यालिडिटी दिने व्यवस्था लागू गरेको छ। यो नियमले प्रयोगकर्ताहरूलाई बारम्बार रिचार्ज गर्नुपर्ने बाध्यता सिर्जना गरेको छ, जसले गर्दा उनीहरू असन्तुष्ट भएका छन् ।
ग्राहकहरूको भनाइ अनुसार, यस्तो छोटो भ्यालिडिटीले अतिरिक्त आर्थिक भार सिर्जना गरेको छ। कतिपय ग्राहकहरूले त एनसेलको सीमकार्ड नै त्याग्ने निर्णय गरेका छन्। “एनसेलले हाम्रो पैसामा खेलिरहेको छ,” एक आक्रोशित ग्राहकले भने ।
सामान्य ग्राहकहरूको बुझाइमा, एनसेलको यो नीति ग्राहकको सुविधाभन्दा व्यापारिक स्वार्थमा केन्द्रित छ। ग्राहकहरूले यो विषयमा नेपाल सरकार र सम्बन्धित नियामक निकायलाई कारबाहीका लागि दबाब दिन आवश्यक रहेको बताएका छन् ।
यस नीतिले उपभोक्ता अधिकार, निम्न-आय भएका प्रयोगकर्ताहरूमा पर्ने प्रभाव, र अन्तर्राष्ट्रिय अभ्याससँग तुलना गर्दा स्पष्ट रूपमा समस्या देखिन्छ ।

ग्राहकहरूले सेवा उपयोग गर्न पैसा तिरेपछि, उनीहरूलाई त्यो सेवा कुनै समयसीमाको बन्धनबिना उपभोग गर्ने स्वतन्त्रता हुनुपर्छ । भ्यालिडिटी सीमित गर्नु उपभोक्ताका आधारभूत अधिकारको उल्लंघन हो, जसले ग्राहकहरूको स्वतन्त्रता र सुविधा घटाउँछ । भ्यालिडिटीको कुरामा भने नेपाल टेलिकम पनि अछुतो छैन ।
हाल नेपाल टेलिकमले निम्नानुसार रिचार्ज र भ्यालिडिटीको व्यवस्था लागू गरेको छ:
५० रुपैयाँ रिचार्ज: ३० दिन भ्यालिडिटी, १०० रुपैयाँ रिचार्ज: ६० दिन भ्यालिडिटी, २ सय रुपैयाँ रिचार्ज: १४० दिन भ्यालिडिटी, ५ सय रुपैयाँ रिचार्ज: ३६० दिन भ्यालिडिटी (एक वर्ष), १ हजार रुपैयाँ रिचार्ज: ७३० दिन भ्यालिडिटी (दुई वर्ष)
एनसेलको छोटो भ्यालिडिटी नीतिले आपतकालीन अवस्थामा धेरै ग्राहकहरूलाई ठूलो समस्या निम्त्याएको छ। कतिपय अवस्थामा, म्याद सकिएको कारणले मानिसहरूले समयमै आफ्ना आफन्त वा सहायता समूहलाई सम्पर्क गर्न सकेनन् । यस्तो असहज परिस्थितिले एनसेलको नीतिप्रति गम्भीर प्रश्न खडा गरेको छ ।
ग्रामीण क्षेत्रका तथा सीमित आय भएका धेरै प्रयोगकर्ताहरू साना रकम रिचार्ज गर्दै त्यसलाई लामो समयसम्म उपयोग गर्न रुचाउँछन्। एनसेलको भ्यालिडिटी सीमित गर्ने नीतिले यस्ता प्रयोगकर्ताहरूलाई आर्थिक दबाब सिर्जना गरेको छ। सस्तो र सर्वसुलभ सेवाको नाममा गरिब तथा निम्न-आय भएका ग्राहकहरूलाई प्रभावकारी रूपमा ठगी गरिरहेको देखिन्छ ।
नेपाल दुरसंचार प्राधिकरणका अनुसार हाल एनसेलका कुल ग्राहक संख्या १,३२,०३,३५१ रहेको छ। तीमध्ये लगभग ५०% ग्राहक सक्रिय रहेको र ती सक्रिय ग्राहकमध्ये ७०% ले साप्ताहिक रूपमा रिचार्ज गर्ने सम्भावना रहेको अनुमान गर्दा :

एनसेलले ग्राहकहरूको साप्ताहिक रिचार्जको सम्भावनामा आधारित हिसाब निकाल्दा मात्रै पनि वार्षिक रूपमा १२ अर्ब रुपैयाँभन्दा बढी अतिरिक्त आम्दानी गर्न सक्छ । नेपाली ग्राहकलाई सेवा प्रदान गर्ने नाममा ठगी गर्दै आएको एनसेलको यो नयाँ नियमले कम्पनीप्रति नकारात्मक धारणा विकास गरेको छ। एनसेलले एकातिर सुविधा दिए जस्तो पनि गर्ने तर त्यसको लागि एउटा न एउटा शर्तहरु राखिहाल्ने गर्छ । यसरी सर्वसाधारणलाई मूर्ख बनाउदै लुट्न यो अग्रसर छ ।
विश्वका धेरै देशहरूमा टेलिकम सेवा प्रदायकहरूले भ्यालिडिटी-आधारित प्रणालीलाई हटाएर ग्राहक सन्तुष्टि र दीर्घकालीन सम्बन्धलाई प्राथमिकता दिएका छन्। नेपालमा भने यस्तो अग्रगामी नीति अपनाउन ढिलाइ भइरहेको छ ।
पटक पटक विवादमा पर्दै आएको एनसेएनसेले सेयर बिक्रीसम्बन्धी कानुनी प्रक्रिया पूरा नगरेको भन्दै विधिसम्मतरुपमा सेवा सञ्चालन गर्न केहि समय अगाडी सर्वोच्चले निर्देशनात्मक आदेशसमेत जारी गरिसकेको छ । न्यायाधीशद्वय मल्ल र ढुङ्गानाको इजलासबाट भएको फैसलाको संक्षिप्त टिपोटमा एनसेलले कानुनी प्रक्रिया पूरा नगरेको र विधिसम्मत नचलेको भन्दै विधिसम्मत प्रक्रिया पूरा गर्न निर्देशनात्मक आदेश दिएको हो । सर्वोच्चले सुनाएको फैसलामा एनसेल कानुनी र आर्थिक दायित्वबाट उम्कन नमिल्ने भन्दै कर निर्धारणको दायित्व नेपाल सरकार र नियमनकारी निकायकै हुने भन्दै त्यसको व्यवस्था नियमित प्रक्रियाबाट हुने उल्लेख छ ।
यदि एनसेलले आफ्ना ग्राहकहरूको विश्वास जित्न चाहेमा, यस्ता नीतिहरूलाई तत्काल सुधार गर्नुपर्ने आवाज उठेको छ ।




