काठमाडौं: नेपालबाट ईपीएस प्रणालीमार्फत दक्षिण कोरिया जाने नेपाली कामदारका लागि हवाई भाडा तोकिएको छ।
वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखाले आह्वान गरेको बोलपत्रमा युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रालिको प्रस्ताव प्रभावकारी ठहरिएकाले स्वीकृतिका लागि छनोट गरिएको विभागले जनाएको छ।
युनिभर्सल टुर्सले मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक प्रतिकामदार प्रतिटिकट ४८,६६५ रुपैयाँमा काठमाडौंदेखि सियोलसम्म उडान गर्नेछ। भ्याट जोड्दा उक्त मूल्य ५४,९९१ रुपैयाँ हुनेछ।
यो दरमा युनिभर्सल टुर्सले ३ माघ २०८१ देखि एक वर्षका लागि कोरिया जाने कामदारलाई एकतर्फी हवाई टिकट उपलब्ध गराउनेछ।
यसअघि यो भाडा दर प्रतिटिकट १,२३,००० रुपैयाँसम्म पुग्ने गरेको थियो।



