रवि लामिछाने अदालतमा पेश, म्याद थपको तयारी

राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराध अभियोगमा आज (आइतबार) म्याद थपका लागि कास्की जिल्ला अदालतमा पेश गरिएको छ।

गत मंसिर ९ गते अदालतले अनुसन्धानका लागि दिएको १५ दिने समय शुक्रबार राति सकिए पनि शनिबार अदालत नखुलेका कारण लामिछानेलाई आज मात्रै अदालतमा पेश गरिएको हो।

लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर मुद्दामा अनुसन्धान जारी रहेकोले सरकारी वकिल कार्यालयले थप समय माग्ने तयारी गरिरहेको छ। कानूनी प्रावधानअनुसार अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा ९० दिनसम्म हिरासतमा राख्न सकिन्छ।

यसै क्रममा लामिछानेसँगै पक्राउ परेका पूर्व प्रहरी डी.आई.जी. छविलाल जोशी, रकम अपचलनमा सहयोग गरेको आरोप लागेकी लीला पछाई, र नेचर हर्ब्स इन्टरनेशनल प्रालि तथा गोर्खा ग्रुप अफ कम्पनी लिमिटेडका सञ्चालक एवं शेयरधनी रामबहादुर खनाललाई पनि अदालतमा पेश गरिने जनाइएको छ।

लामिछाने गत कात्तिक २ गते सहकारी रकम अपचलन आरोपमा पक्राउ परेका थिए। उनलाई बुटवल, चितवन, काठमाडौंमा बयान गराएपछि पोखरा ल्याइएको छ भने थप अनुसन्धानका लागि पर्सा लैजाने तयारी गरिएको छ।