धनगढीका मेयर हमाल अस्वस्थ, मस्तिष्कको नसामा समस्या

समाचार

कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि दिल्ली रेफर गरिएको छ। शुक्रबार स्वास्थ्यमा समस्या आएपछि उनी धनगढीको माया मेट्रो अस्पतालमा भर्ना भएका थिए। मस्तिष्कको नसामा समस्या देखिएपछि आईसीयूमा राखेर न्युरोलोजिस्ट डाक्टर हरि पौडेलको टोलीले उपचार गरिरहेको अवस्थामा शनिबार उनलाई दिल्ली रेफर गरिएको हो।

चिकित्सकका अनुसार मेयर हमालको मस्तिष्कको एउटा नसामा समस्या देखिए पनि अवस्था जटिल भने छैन। शनिबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले अस्पताल पुगेर मेयर हमालको स्वास्थ्य लाभको कामना गरेका छन्। मन्त्री भण्डारीसँगै प्रदेश सभा सदस्य धर्मराज पाठक, एमाले कैलाली अध्यक्ष यज्ञराज ढुंगाना लगायतका नेताहरूले पनि मेयर हमाललाई भेटेका थिए।