कुवेतको जजिरा एयरवेजले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गरेको छ । कुवेतको जजिरा एयरवेजको जहाज बिहान ७ बजेर ४० मिनेटमा जहाज गौतम बुद्ध विमानस्थलमा अवतरण गरेको हो । दुई वर्षअघि यो विमानस्थल उद्घाटनसँगै जजिराले भैरहवाबाट उडान सुरु गरेको थियो ।
१० महिना उडान भरेपछि प्राविधिक कारण देखाएर उडान स्थगित गरेको जजिराले आजदेखि साताको तीन दिन उडान भर्ने गरी सुचारु गरेको विमानस्थलले जानकारी दिएको छ ।
जजिराले साताको मङ्गलवार, बिहीबार र शनिवार भैरहवा–कुवेत उडान भर्नेछ । विमानस्थलका अनुसार जजिराको विमान बिहान ७ बजेर ३० मिनेटमा भैरहवा अवतरण गर्नेछ । यहाँबाट ८ बजेर ३० मिनेटमा कुवेतका लागि उडान भर्नेछ ।
जजिराले १७४ यात्रु लिएर आएको थियो भने जाँदा पनि १७४ जना यात्रु नै लगेर उडेको विमान्स्थलले जानकारी दिएको छ । विमान्स्थलका अनुसार आजबाटै फ्लाई दुबईले पनि उडान थाल्दै छ । फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौँ–दुबई उडान गर्नेछ । फ्लाई दुबईले यहाँबाट साताका सातै दिन उडान गर्ने विमान्स्थलले जानकारी दिएको छ ।



