काठमाडौँमा जारी एभरेष्ट महिला भलिबल लिगमा ललितपुर क्विन्सले आजको खेल जितेर फाइनल सम्भावना कायमै राखेको छ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको खेलमा चितवन शक्तिलाई ३–१ सेटमा पराजित गर्दै ललितपुरले शीर्ष दुईमा दावेदारी कायमै राखेको हो।
चितवनले पहिलो खेल २५–२० ले आफ्नो पक्षमा पारे पनि त्यसपछिका ३ खेल लगातार गुमाएपछि १-३ ले पराजित हुन पुग्यो।
दुवै टोलीबीच निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा थाई खेलाडी वरन्याले ललितपुरलाई जिताउन गतिलो प्रदर्शन गरेकी थिइन्। ललितपुरले चितवनमाथि २५–२१, २५–१६ र २५–१९ सेटले सहजै पराजित गर्दै पाखा लगायो।
जितसँगै ५ खेलबाट १० अंक जोडेको ललितपुर दोस्रो स्थानमा उक्लिएको छ। लिगको अन्तिम खेलमा कर्णाली यसभिशले काठमाडौँ स्पाइकर्सलाई सोझो सेटमा पराजित गरे ललितपुर फाइनल पुग्नेछ।
यसअघि काठमाडौँ र मधेश युनाइटेड दुवैलाई ३-१ को सेटमा हराएको ललितपुर कर्णालीसँग ३-० र गण्डकीसँग ३-२ सेटमा पराजित भएको थियो।
हारसँगै ५ खेलबाट ७ अंक जोडेको चितवनले चौथो स्थानमा रहेर लिग अन्त्य गरेको छ।
अहिले मधेश युनाइटेड र गण्डकी थन्डर्सबीच प्रतिस्पर्धा भइरहेको छ। दुवै टोली लिगबाट बाहिरिइसकेका छन्।


