भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हिन्दू नारीको महान् पर्व हरितालिका तीज आज (शुक्रबार) महादेवको पूजा आराधना गरी मनाइँदैछ ।
भाद्र शुक्ल तृतीयामा व्रत बसेर शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । तिजका अवसरमा पशुपतिनाथलगायत मुख्य मन्दिरहरु बिहान तीन बजेदेखि नै खुलेको छ । मन्दिर दर्शनका लागि पशुपतिनाथमा चार वटा लाइन व्यवस्था गरिएको छ ।
व्रत बसेका महिलाको पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजा एवम् दर्शनका लागि भीड लाग्ने गर्छ । मन्दिर परिसरमै नाच गान गरी व्रतालु महिलाले रमाइलो गर्छन् । महिलाले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई लिने गर्दछन् ।
सत्ययुगमा आजैको दिन निराहार व्रत बसेर पार्वतीले महादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेको धर्मशास्त्रीहरुको मत छ ।



