भक्तपुरमा पाँच दीपंकर बुद्धलाई नगर परिक्रमा गराई पञ्चदान पर्व मनाइएको छ। प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशी (पञ्चदान चह्रे) का दिन बौद्ध संस्कृतिअनुसार पञ्चदान पर्व मनाइन्छ।
पञ्चदान पर्वका दिन भक्तपुर नगरपालिका-९ सूर्यमढीमा पाँचवटा दीपंकर बुद्धलाई बिहान भेला गराई दिनभर नगर परिक्रमा गराउने परम्परा छ। यसअघि नगरका पाँच छुट्टाछुटै स्थानमा राखिएका दीपंकर बुद्धलाई सूर्यमढी ल्याई पुर्याउने परम्परा छ।
यसअनुसार बिहानै प्रसन्नशील महाविहार क्वाठण्डौंका मूलदीपंकर बुद्ध, चर्तुब्रह्म महाविहार साकोठाका दीपंकर बुद्ध, मंगलधर्म दीप महाविहार झौरवही पलिखेलका दीपंकर बुद्ध, जयकीर्ति महाविहार थथुवही इटाछेंका दीपंकर बुद्ध र बौद्ध समकृत विहार कुथुवही भक्तपुर मिनीबस पार्कका दीपंकर बुद्धलाई भक्तपुर-९ सूर्यमढी टोलस्थित डबलीमा बोकेर ल्याइपुयाइएको थियो।
सूर्यमढी टोलस्थित आदिपद्म महाविहारमा मूल पुजारी (थाय्पाजु)द्वारा पञ्चदान प्रारम्भ गरेपछि ती पाँच दीपंकर बुद्धलाई नगरका विभिन्न ठाउँमा परिक्रमा गराइएको थियो।
नगर परिक्रमा गराउने क्रममा चोकका ठाउँठाउँमा स्वागत गर्ने, विराजमान गराई पूजा चढाउने, विशेष सांगीतिक बाजाको धुनमा नृत्य गराउने, स्त्रोत्र पाठ गरी परिक्रमा गर्ने गराउने परम्परा छ।
नगर परिक्रमा गर्ने पाँचवटा दीपंकर बुद्धलाई बिहान सूर्यमढीबाट जेंला, दतात्रय, क्वाठण्डौं, गोल्मढी, सुकलढोका, महालक्ष्मी, भोलाछें, चोछेंबाट सुकुलढोका ल्याइएको थियो। त्यहाँबाट पुनः साकोथा, दरबार स्क्वायर, इँटाछें, भक्तपुर मिनीबस पार्क ल्याइएको थियो।
दानका रूपमा दैनिक उपभोग्य वस्तु दान गर्ने परम्परा छ। धान, चामल, मकै, गेडागुडीलगायतका खाद्यान्न दान गर्ने परम्परा छ।


