पलेशा गोवर्धनले नेपाललाई दिलाइन् ऐतिहासिक कास्य पदक

खेलकुद

पेरिस पारालिम्पिक २०२४ मा नेपालकी पलेशा गोवर्धनले ऐतिहासिक कास्य पदक जितेर देशलाई गौरवान्वित बनाएकी छन्। के-४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा सर्वियाकी मारिजा मिचेभलाई १५-८ ले पराजित गर्दै उनले यो सफलता हात पारेकी हुन्।

पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन्। यसअघि उनले प्रतियोगिताको पहिलो चरणमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१-० ले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेकी थिइन्। तर, क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेससँग १०-८ ले पराजित भएपछि रिपचेजमा पुगेकी थिइन्। रिपचेजमा फ्रान्सकी सेफी कार्भजनलाई २-१ ले पराजित गर्दै उनले कास्य पदक निश्चित गरेकी थिइन्।

गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा स्वर्ण पदक जितेर पलेशा पेरिस पारालिम्पिकका लागि छनोट भएकी थिइन्। उनी चीनमा भएको १९औँ एसियाली खेलकुदकी पनि ऐतिहासिक कास्य पदक विजेता हुन्।

नेपालले सन् २००४ को एथेन्ज पारा ओलम्पिकदेखि पारालिम्पिकमा सहभागिता जनाउन थालेको हो। १० वर्षको उमेरदेखि तेक्वान्दो खेल्न थालेकी पलेशा २०१६ मा पारा राष्ट्रिय टिममा आबद्ध भएकी थिइन्। त्यसयता उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेकी छन्। पारा तेक्वान्दो, जोर्डनमा २०१९ मा भएको पाँचौँ एसियाली पारा खुला तेक्वान्दो र २०१९ मै टोकियो पारालिम्पक गेम्सको टेस्ट इभेन्टमा पाँचौँ स्थान हासिल गरेकी थिइन्। यसैगरी सन् २०१९ मा टर्कीमा भएको आठौँ विश्व पारा तेक्वान्दोमा नवौँ स्थान हासिल गरेकी पलेशाले साउदी अरबियामा भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा पनि सहभागिता जनाएकी थिइन्।