‘सापारु’ अर्थात् गाइजात्रा

रोचक

‘सापारु’ अर्थात् गाइजात्रा काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा धूमधामका साथ मनाइन्छ ।

सापारु नेपाल संवत् अनुसार गुंलागाः पारु अथवा भाद्र शुक्ल प्रतिपदा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट मनाइने गरिन्छ । एक वर्ष भित्र दिवंगत आफन्तजनको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको सापारु उपत्यका लगायत पर्व नेवाः समुदाय रहेका विभिन्न ठाउँमा मनाइने गरिन्छ । यस दिन नेवाः समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुमाइने गरिन्छ । यस दिन भजन कीर्तन पनि गरिन्छ ।

सापारु व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ ।

किम्बदन्ती अनुसार पुत्रशोकले उदास आफ्नी रानीलाई तिम्रो घरमा मात्रै शोक परेको होइन , दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन तत्कालिन राजा प्रताप मल्लले जनतालाई आ–आफ्नो मरेका आफन्तका नाममा सापारु निकाली सहर परिक्रमा गराउनु उर्दी दिए अनुसार सापारुको चलन चलिआएको हो । यतिले पनि रानीको मन शान्त हुन नसकेपछि विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेशसँगै गाइजात्रा पर्व चलिआएको जनविस्वास छ ।

हिन्दुधर्म अनुसार यस पर्वका बारेमा अर्को पनि जन विश्वास रहेको पाइन्छ । यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा सापारु निकालेपछि यमलोकको ढोका खुल्ने र मृत आत्माहरूले यमलोक प्रवेश पाई मुक्ति पाउने भन्ने जनविश्वास पनि रहिआएको छ । गाईजात्राको दिनमा गाईको पुच्छर समातेर वैतरणी नदी पार गर्दा स्वर्गमा पुगिन्छ भन्ने मान्यता पनि छ ।

यस पर्वका क्रममा प्रहसन सामाजिक विकृतिप्रति व्यङग्यात्मक प्रदर्शन नाचगान तथा दिवंगत आफन्तको सम्झनामा रामायणका कारुण रसका गीतहरू पनि गाइने चलन छ । सापारुका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रको आयोजना गर्ने गरिन्छ ।

‘सा’ अर्थात् गाई ‘पारु’ भन्नाले प्रतिपदा, प्रतिपदाको दिन मनाइने कारण यस पर्वलाई सापारु भनिएको हो ।

भक्तपुरमा पनि सापारुका छुट्टै रौनक र आकर्षण छ । विभिन्न साँस्कृतिक बाजा खिङ, धिमे, तं, भुस्याः बाजाका साथ ताहामच्चासगै घिन्ताङ्गघिसी नाच भक्तपुरमा सापारुको दिन प्रदर्शन गरिन्छ । भक्तपुरमा केटा मर्दा केटाको लुगा र केटी मर्दा फरिया डोकोमा बेरेर गाईको चित्र र त्यसमा परालको सिङ गुथेर सिन्दूर, टीका र मालाले पूजा गरिन्छ र नगर घुमाउने चलन छ ।