भक्तपुर दुर्घटना: सत्यतथ्य पत्ता लगाउन प्रशासनद्वारा दुई छानबिन समिति गठन

समाचार

भक्तपुरको गठ्ठाघरमा भएको दर्दनाक सडक दुर्घटनाको सत्यतथ्य छानबिन गर्न भक्तपुर जिल्ला प्रशासन कार्यालयले छानबिन समिति गठन गरेको छ। बिहीबार दिउँसो भएको यस दुर्घटनामा एक स्कुटर चालकको मृत्यु भएको थियो।

दुर्घटनाको गम्भीरतालाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठको नेतृत्वमा बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्रप्रसाद निरौलाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिले सात दिनभित्र प्रतिवेदन बुझाउनेछ।

दुर्घटनामा परी ज्यान गुमाएका ६५ वर्षीय उत्तम कोइरालाको निधनले स्थानीयबासी स्तब्ध भएका छन्। कोइरालाको स्थायी घर ओखलढुंगामा भए पनि उनी हाल काठमाडौंको कपनमा बस्दै आएका थिए।

प्रहरीले पनि यस घटनाको छानबिन गरिरहेको छ। गृहमन्त्री रमेश लेखकको निर्देशनमा उपत्यका प्रहरी कार्यालयले छुट्टै छानबिन समिति गठन गरेको छ।

दुवै छानबिन समितिले दुर्घटनाको कारण पत्ता लगाउने, दोषीलाई कानुनी कारबाही गर्ने र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक उपायहरूको सुझाव दिनेछन्।