बैंक र ऋणीलाई हेर्ने कानून फरक हुनुपर्छ : गभर्नर अधिकारी

अर्थ

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक र ऋणीलाई हेर्ने कानून फरक हुनुपर्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० माथी छलफलमा गभर्नर अधिकारीले  ऋणीसँगै बैंकर समेत जेल जाने स्थिति बनेको भन्दै बैंकिङ कसुर सम्बन्धि कानून फरक–फरक बनाउनुपर्नेमा जाेड दिएका हुन् ।

ऋणी र बैंकरलाई छुट्याउने कानून बनाउन आवश्यक रहेको उल्लेख गर्दैै गभर्नर अधिकारीले ऋण दिएर किन आफूलाई जोखिममा पार्नु  भन्दै काम गर्न बैंकरहरु डराइरहेको बताए । उनले  बैंक तथा वित्तीय संस्था विरुद्ध गतिविधि गर्नेलाई पनि बैंकिङ कसुर अनुसार कारबाही गर्नुपर्ने बताए ।

गभर्नर अधिकारीले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० लाई पुनर्लेखन गर्नुपर्ने बताए । उनले  वित्तीय स्थायित्व विरुद्ध सामाजिक सञ्जाल र संगठित रुपमा भइरहेका गतिविधिलाई कारबाही गर्ने व्यवस्था आवश्यक रहेको भन्दै विधेयक पुनर्लेखन गर्न सुझाव दिए ।