काभा महिला नेसन्स भलिबलको फाइनलमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भारतको फाइनल भिडन्त दशरथ रङ्गशाला कभर्डहलमा आज साँझ ५ बजे सुरु हुनेछ ।
घरेलु टोली नेपालले सेमिफाइनलमा इरानलाई मंगलबार ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा भारसँगको भेट पक्का गरेको हो ।
नेपालले सेमिफाइनलमा इरानलाई २५–२१, २८–२६ र २५–२० ले पराजित गरेको हो । लिग चरणमा भएको इरानसँगको पराजयको बदला नेपालले सेमिफाइनलमा लिएको हो । लिग चरणमा इरानले नेपाललाई पाँच सेटमा हराएको थियो ।
समूह चरणको नेपाल र भारतको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । तर नेपालले खेल पाँचौं सेटमा पुगेर जितेको थियो । यो नेपालको ऐतिहासिक जित थियो ।
समूह चरणामा नेपालसँग मात्र पराजित भएको भारतले मङ्गलबारै श्रीलङ्कालाई २५–१५, २५–१६, २५–२३ को सोझो सेटमा हराएर फाइनलमा स्थान बनाएको हो । समूह चरणमा भारतविरुद्ध ऐतिहासिक जित निकालेको नेपाल उपाधि उचाल्ने लक्ष्यका साथ फाइनल भिडन्तका लागि मैदान उत्रने छ ।



