किन छोडिन शेख हसिनाले बंगलादेश ?

अन्तराष्ट्रिय

शेख हसिना बंगलादेशका संस्थापक शेख मुजिबुर रहमानकी छोरी हुन्। उनी बंगलादेशको राजनीतिमा लामो समयदेखि सक्रिय छिन्। सन् २००९ देखि प्रधानमन्त्रीको पद सम्हाल्दै आइरहेकी हसिना बंगलादेशको इतिहासमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री रहने व्यक्तिको रूपमा चिनिन्छिन्।

भारतको स्वतन्त्रता अघि, बंगलादेश बंगाल प्रान्तको पूर्वी भाग थियो। तर सन् १९४७ मा भारत विभाजन भएपछि यो क्षेत्र पाकिस्तानमा पर्यो  र पूर्वी पाकिस्तानका नामले चिनिन थाल्यो। सन् १९७१ मा बंगाली भाषीहरूले पाकिस्तानविरुद्ध स्वतन्त्रता युद्ध लडेका थिए। यस युद्धको नेतृत्व हसिनाका पिता शेख मुजिबुर रहमानले गरेका थिए। रहमानकै नेतृत्वमा बंगलादेश एक स्वतन्त्र राष्ट्रको रूपमा स्थापित भएको थियो।

पाकिस्तानबाट छुट्टिएपछि बङ्गलादेश एक स्वतन्त्र राष्ट्रको रूपमा अस्तित्वमा आएको थियो । तर पछिल्लो समय बंगलादेशमा कोटा प्रणालीका कारण राजनीतिक उथलपुथल भएको छ। यस प्रणालीले स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा विशेष सुविधा दिँदै आएको थियो।

बंगलादेशमा सरकारी जागिरमा कोटा प्रणाली खारेज गर्न माग गर्दै विद्यार्थीहरूले लामो समयदेखि आन्दोलन गरिरहेका छन्। गत जुलाईदेखि सुरु भएको यो आन्दोलन पछिल्लो समय अझ हिंसात्मक बन्दै गएको छ। आइतबार भएको प्रदर्शनमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपमा ९० भन्दा बढी प्रदर्शनकारीको मृत्यु भएको छ।

यो आन्दोलन सुरु भएदेखि हालसम्म तीन सयभन्दा बढीले ज्यान गुमाइसकेका छन्।

हिंसात्मक प्रदर्शन चर्किएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना राजीनामा दिन बाध्य भएकी छन्। हसिनाको पार्टीले कोटा प्रणालीको पक्षमा वकालत गर्दै आएका बेला विपक्षी दलहरूले यसको विरोध गर्दै आएका थिए। प्रदर्शनकारीले हसिनाको सरकारी निवासमा तोडफोड र लुटपाट गरेपछि उनी देश छोडेर परिवारसहित भारत गएकी छिन्।

बंगलादेशी सेना प्रमुख वाकेर उज जमालले हसिनाको राजीनामाको पुष्टि गर्दै अन्तरिम सरकार गठनका लागि सेनाले भूमिका खेल्ने बताएका छन्।

आरक्षणको अवस्थाले हसिना लगायतको परिवारलाई मात्रै फाइदा पुग्ने र त्यसले योग्यता र क्षमताको कदर नहुने भन्दै बिपक्षी बिद्यार्थी संघ संगठनले आन्दोलन गरेपछि हसिना देशै छोड्न बाध्य भइन् । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले सोमबार पदबाट राजीनामा दिएर भारतमा शरण लिन पुगेकी छिन् ।