बङ्गलादेशमा हिंस्रक आन्दोलन चर्किएपछि ३४० नेपाली विद्यार्थी आइपुगे काँकडभिट्टा

विविध

चिकित्सा शिक्षा अध्ययनका लागि हजारौँ नेपाली विद्यार्थी बङ्गलादेशमा रहँदै आएका छन् । केही समययता बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण धेरै भएको भन्दै चलेको विद्यार्थी आन्दोलनले उग्ररुप लिएको छ । त्यहाँ रहेका सम्पूर्ण शिक्षण संस्थाहरु बन्द गरिएका छन् । ढाकास्थित नेपाली राजदूतावासले सूचना जारी गर्दै नेपाली विद्यार्थीलाई अत्यावश्यक काम नपरी होस्टलबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।

बङ्गलादेशमा हिंसात्मक आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीले त्यहाँ बस्नुभन्दा स्वदेश फर्किनु उचित सम्झेर परिवारसँग सम्पर्क गरिरहेको कुरा जानकारीमा आएको छ ।

पूर्वीनाका काँकडभिट्टा हुँदै तीन दिनमा तीन सय ४० जना नेपाली विद्यार्थी बङ्गलादेशबाट फर्किएका छन् । बङ्गलादेशमा हिंस्रक आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्किन थालेका हुन् ।

अध्यागमन कार्यालय काँकडभिट्टाले बिहीबार ८५, शुक्रबार एक सय १४ र शनिबार एक सय ४१ जना नेपाली विद्यार्थी स्वदेश फर्किएका जानकारी दिएको छ । नेपाली विद्यार्थीसँगै बङ्गलादेशमा अध्ययनरत माल्दिभ्सकी एक छात्रासमेत काँकडभिट्टा नाका भएर नेपाल आएको जानकारीमा आएको छ ।

बङ्गलादेशमा इन्टरनेट सेवा बन्द गरिँदा ‘वाट्स एप’, ‘मेसेन्जर’ लगायत समाजिक सञ्जालका साथै मोबाइल एप्लिकेसनबाट सम्पर्क स्थापित गर्न नसकिएको तथा टेलिफोन सम्पर्कमा समेत नेटवर्कको समस्या देखिने गरेको अभिभावकले बताएका छन् ।

बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीलाई ढाकाबाट हवाईमार्ग हुँदै सिधै काठमाडौँ अवतरण हुने र पूर्वीनाका काँकडभिट्टा हुँदै स्थलमार्गबाट नेपाल आउने दुई सजिला विकल्प रहेका छन् ।