एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री पदमा नियुक्ति आइतबार मात्रै हुने भएको छ । ओलीले १६६ सांसदको समर्थनसहित शुक्रबार राति प्रधानमन्त्रीमा दाबी पेस गरे पनि नियुक्ति भने आइतबार मात्रै हुने राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
कांग्रेस र एमालेका सांसदका १६६ सांसदको समर्थनबारे फाइल प्राप्त गरेसँगै राष्ट्रपतिले आवश्यक अध्ययन गरेर आइतबार मात्रै नियुक्ति गर्ने सचिवालयको भनाइ छ ।
दावी पेस गर्दा साना दललाई बेवास्ता
जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टी कांग्रेस-एमाले गठबन्धनमै भए पनि ओलीले कांग्रेस र एमालेको मात्रै हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । दावी पेस गर्दा ओलीले १६६ सांसदको समर्थन जुटाएका छन् । जसअनुसार ओलीले राष्ट्रपतिसमक्ष पत्र बुझाउँदै कांग्रेसका ८८ र एमालेका ७८ सांसदको समर्थन रहेकाले संविधानको धारा ७६ को उपधारा २ अनुसार आफूलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई पत्र बुझाउँदै आग्रह गरेका हुन् ।ओलीलाई सत्ता यात्रामा साथ दिन राप्रपासहित साना दलहरु जसपा, जनमत, लोसपा, जसपा नेपाललगायतका दल सकारात्मक छन् । तर, उनले सरकार निर्माणको प्रक्रियामा कांग्रेसको मात्रै साथ लिएका हुन् ।

शुक्रबार प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत गुमाएपछि नयाँ सरकारको ढाेका खुलेकाे थियाे । प्रचण्डले राखेकाे विश्वासका मतकाे प्रस्ताव प्रतिनिधिसभाबाट अस्वीकृत भएपछि संसद् सचिवालयले दाहालले विश्वासको मत लिन नसकेको जानकारी राष्ट्रपति कार्यालयलाई गराएको थियो ।
राष्ट्रपति पाैडेलले संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेपछि ओलीकाे नेतृत्वमा सरकार बन्ने बाटाे खुलेकाे थियाे । संविधानको धारा ७६ (२) मा राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ ।



