प्रधानमन्त्री दाहाललाई आफू प्रधानमन्त्री हुनुको कारण नै थाहा नभएको गगन थापाको टिप्पणी

समाचार

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफू प्रधानमन्त्री हुनुको कारण नै थाहा नभएको आरोप लगाएका छन् । शनिवार नेपाली काँग्रेस नागार्जुन नगर कार्यसमितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री दाहाललाई आफू प्रधानमन्त्री किन भएको हो भन्ने नै थाहा नभएको जिकिर गरेका हुन् । प्रधानमन्त्री के का लागि भएको र प्रधानमन्त्री भएर के गर्ने भन्ने पनि प्रधानमन्त्रीलाई थाहा नभएको उनको भनाई छ । उनले देशको राष्ट्रिय अर्थतन्त्रको अवस्था बेहाल भएको भन्दै अर्थतन्त्र बिग्रनुको जिम्मेवारी प्रधानमन्त्रीले नलिएको आरोप लगाए । विगतको सरकारको अर्थतन्त्र पनि राम्रो नभएको भन्दै उनले त्यतिबेला पनि प्रधानमन्त्रीले काँग्रेसलाई दोष लगाएको बताए । महामन्त्री थापाले प्रधानमन्त्री दाहालले जसरी पनि प्रधानमन्त्री मात्रै बन्ने खेलोफड्को गरिरहेको बताए ।
महामन्त्री थापाले नयाँ राजनीतिक दलहरुले लोकरिझ्याँइ बाहेक केही नगर्ने समेत बताए । उनले नयाँ राजनीतिक दलका मन्त्रीहरु जिम्मेवारी अनुसारको काम नगरी समाजिक सञ्जालमा लाइक बढाउने काममा मात्रै लागेको बताए ।