सेनाको सफा हिमाल अभियान चैत २९ देखि

पर्यटन समाचार

नेपाली सेनाले सफा हिमाल अभियानको चौथो संस्करण चैत २९ गतेदेखि सुरु गर्ने भएको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाली सेनाका सहायक रथी एवं सफा हिमाल अभियान, २०२४ का अभियान निर्देशक सञ्जय देउजाले चैत्र २९ गते टोली प्रमुखलाई प्रधानसेनापति प्रभुराम शर्माले ब्यानरसहित सामान हस्तान्तरण गर्ने बताए ।

अभियान आगामी जेठ २३ विश्व वातावरण दिवसको दिन सकिने उनले जानकारी दिए । देउजाका अनुसार संकलित फोहोरमध्ये नसढ्ने फोहोर रिसाइकल गर्ने संस्थालाई हस्तान्तरण गरिनेछ ।

अभियानमा सगरमाथा ल्होत्से र नुप्से हिमालका बेसक्याम्प र सो भन्दा माथिका उचाइहरुबाट १० टन फोहोर तथा ५ वटा मानव शव संकलन गर्ने लक्ष्य लिइएको छ ।

सेनाले सन् २०१९ देखि यो अभियान सुरु गरेको हो ।