मकवानपुरको थाहा नगरपालिकादेका शन्त बहादुर गुरुङले ५२ वर्षको उमेरमा कक्षा ८ को नगरस्तरीय वार्षिक परिक्षा दिइरहनुभएको छ । वडा नम्बर १ स्थित झम्केश्वरी माध्यामिक विद्यालयमा अध्ययनरत गुरुङले पालुङ क्याम्पस केन्द्रबाट परीक्षा दिइरहनुभएको हो ।
गुरुङका अनुसार ३८ वर्ष अघि कक्षा ८ को वार्षिक परीक्षामा साथीमार्फत् आफू फेल भएको थाहा पाएपछि गुरुङले पढाई बिचैमा छाड्नुभएको थियो ।
सानैदेखि सामाजिक सेवामा रुचि राख्ने गुरुङले विभिन्न उपभोक्ता समितिको अध्यक्ष भएर काम गरिसक्नु भएको छ । आफैले अक्षर चिनेको बसन्त प्रावि व्यवस्थापन समितिको २ कार्यकाल अध्यक्ष भएर जिम्मेवारी पूरा गर्नुभएका गुरुङले गाउँको सडक निर्माण समिति, झोलुङ्गे पुल निर्माण समिति, सामुदायिक वन लगायत थुप्रै समितिहरुको अध्यक्ष भएर काम गर्नुभएको छ ।
२ जना सन्तानका बुबा गुरुङ हाल सिरानघर डाँडागाउँ खड्का टोल खानेपानी उपभोक्ता समितिका अध्यक्ष हुन् । उनका जेठो छोरा स्नाकोत्तर अध्ययनरत छन् भने कान्छो छोरा स्नाकोत्तर अध्ययनको तयारीमा छन् ।



