‘सुलभ फार्मेसी’ खोल्दै काठमाडौं महानगर

स्वास्थ्य-शिक्षा

कामपाले स्वर्णिम योजनाका रुपमा न्यूनतम मूल्यमा औषधि विक्री वितरण गर्ने गरी ‘सुलभ फार्मेसी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । महानगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम र बजेट बमोजिम सो कार्यक्रम कार्यान्वयनका लागि निर्देशिका तयार गरी सुलभ फार्मेसी सञ्चालन गर्न लागिएको हो ।

बैठकले महानगरको कानून तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्यको संयोजकत्वमा निर्देशिका मस्यौदा समिति गठन गरिएको छ ।  निर्देशिकाको मस्यौदा तयार गर्न सो कार्यदललाई ७ दिनको समय दिइएको छ ।

छलफलमा फर्मासिष्टले बताएअनुसार हाल उपभोक्ताले औषधिको मूल्यभन्दा ४० प्रतिशतभन्दा बढीसम्म मूल्य तिर्नुपर्ने बाध्यता रहेको छ । कतिपय औषधिमा चार गुणासम्म मूल्य निर्धारण भएर बजारमा आएको उनीहरुको भनाइ छ ।

नेपालमा करिब १८ हजार ब्राण्डका औषधि आयात हुने गरेका छन् । त्यसमध्ये नेपालमा उत्पादित १२८ र विदेशी ३५० कम्पनीका औषधिहरु रहेका छन् । नेपालमा वार्षिक करिब ७० अर्बको औषधि खपत हुने गरेको छ ।

महानगरपालिकाले यसवर्ष सो कार्यक्रमका लागि छ करोड रुपैयाँ विनियोजन गरेको छ ।