सत्ता समीकरणमा फेरबदलसगै प्रचण्डको नेतृत्वमा माओवादी, एमाले, रास्वपा र जसपा सरकारमा सामेल हुने भएको छ। प्रचण्डको नेतृत्वमा माओवादी, एमाले, रास्वपा र जसपानेकपा माओवादी केन्द्र र नेकपा एमालेसहितका दलहरूबीच नयाँ गठबन्धन बनाउने सहमति भएको छ।
नेकपा माओवादी केन्द्रले शान्ति प्रक्रियालाई टुंग्याउने र सरकारको कामलाई नयाँपन दिनका लागि नयाँ गठबन्धन बनाउनुपरेको जनाएको छ। नयाँ गठबन्धनले वामपन्थी आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढाउँदै ध्रुवीकरणको दिशामा लैजान मद्दत मिल्ने माओवादीको विश्वास छ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले कांग्रेसहितको पुरानो गठबन्धन भत्काउँदै एमाले रास्वपासहितको नयाँ गठबन्धन बनाउने निर्णय गरेको हो। कयौं चुनौती त छन् तर त्यसको बाबजुद पनि नेपालको वामपन्थी आन्दोलनलाई फेरी नयाँ शिराबाट अगाडि बढाउनको निम्ति सरकारको प्रसंगलाई जोड्दै वामपन्थीहरुको ध्रुवीकरणको दिशामा लैजाने उद्देश्यसहित नयाँ समीकरण बनाउने निर्णय गरिएको माओवादीको तर्क छ।
अर्थ मन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्रीको अपेक्षा गरे अनुरुप सहयोग नगरेको, राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा माओवादी केन्द्रको उम्मेदवारलाई हराउनु, कांग्रेस महासमिति बैठकमा जनयुद्धलाई गलत ढंगले टिप्पणी गर्नु र हिन्दु राष्ट्रको पक्षमा वकालत गर्नुले पनि कांग्रेस–माओवादी गठबन्धन टुट्न सहयोग पुगेको माओवादीको निष्कर्ष छ।
नयाँ गठबन्धनमार्फत् शान्ति प्रक्रिया टुंगो लगाउने र बजेटमार्फत् जनताका अपेक्षा पूरा गर्ने माओवादीको दाबी छ। नयाँ सत्ता गठबन्धनमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई भने नसमेट्ने तर एकीकृत समाजवादीलाई भने गठबन्धनमा ल्याउन प्रयास गर्ने बताइएको छ। सरकारी निवास बालुवाटारमा आइतबार अबेर रातिसम्मबसेको दलहरूको बैठकमा नयाँ गठबन्धन सरकार बनाउने सहमति भएको हो। नयाँ गठबन्धनमा एमाले, माओवादी, रास्वपा र जनता समाजवादी सहभागी हुने छन्।



