प्रधानसेनापतिको अभिव्यक्तिले बालुवाटारलाई टेन्सन

विविध

प्रधानसेनापति पूर्णचन्द्र थापाले बुधबार दिएको अभिव्यक्तिले सत्तारुढ नेकपामा हलचल पैदा गरेको छ ।

सेनाको कमान्ड सम्हालेको दुई वर्ष पुगेको अवसरमा आयोजित विशेष समारोहमा थापाले आगामी दिनमा मुलुकमा अन्योल र अस्थिरता निम्तिने प्रक्षेपण गरेका थिए ।

थापाले प्रस्ट रूपमै विभिन्न प्रयोगको सिलसिला र मनोगत स्वार्थको कारणले मात्र होइन, क्षेत्रीय र अन्तर्राष्ट्रिय कारणले पनि राष्ट्रिय जीवन आगामी केही वर्ष तरल रहने प्रक्षेपण गरे ।

उनल स्थानीय, प्रादेशिक र राष्ट्रिय क्षमतामा दबाब थपिने जनाए । ‘महामारी जति फैलिन्छ, हाम्रा स्थानीय, प्रादेशिक र राष्ट्रिय क्षमताहरूमाथि त्यति नै दबाब थपिँदै जान्छ । यसबाट स्वास्थ्य समस्या मात्र थपिँदैन, सामाजिक–आर्थिक गतिविधि संकुचित हुन्छन्, विदेशबाट फर्किएका युवाहरूको बेरोजगारीको समस्याले अस्थिरता र अन्योल निम्त्याउन सक्छ,’ प्रधानसेनापति थापाले भनेका छन् ।

सेनापति थापाको अभिव्यक्तिले प्रधानमन्त्री केपी ओलीको शासनशैलीमाथि असन्तुष्टि रहेको विश्लेषण गर्न थालिएको छ । यदि देशमा सरकारको नेतृत्व गर्ने व्यक्ति राम्रो भइदिएको भए कोरोना महामारी चाँडै नियन्त्रणमा ल्याउन पहल गर्ने तथा देशी–विदेशीको चलखेल रोक्न सकिने उनको आशय देखिन्छ ।

तर, यतिबेला सरकारमा बस्नेहरूले आफ्नो कार्यक्षमता देखाउन सकेका छैनन् । त्यसैले पनि प्रधानसेनापति थापाले यस्तो भविष्यवाणी गरेको हुन सक्ने चर्चा राजनीतिक वृत्तमा छ ।

खासगरी नेपाली सेनालाई कोरोना रोकथाम र नियन्त्रणका लागि विदेशबाट खरिद गरिएका सामग्रीमा भ्रष्टाचार हुँदा सत्तारुढ नेकपाका नेताले सेनालाई पनि मुछेपछि नेपाली सेना सरकारसँग असन्तुष्ट देखिएको छ । त्यसमा पनि रक्षामन्त्री ईश्वर पोखरेलसँग हार्दिक सम्बन्ध नरहेको बताइन्छ ।