अफगानिस्तानका उपराष्ट्रपतिलाई लक्षित गरेर बुधबार राजधानी काबुलमा बम विस्फोट गराइएको छ। उपराष्ट्रपति अमरुल्लाह सालेहलाई लक्षित गरेर राजधानी काबुलमै आत्मघाती बम विस्फोटन गराइएको प्रहरीले जनाएको हो।
विस्फोटनपछि कम्तीमा दुई जनाको मृत्यु र अरु १२ जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका हुन्। श्रोतलाई उद्धृत गर्दै पझोक सामाचार संस्थाका अनुसार उपराष्ट्रपति सालेहलाई भने भौतिक रुपमा केही भएको छैन।


उपराष्ट्रपति सालेहका छोराले आफ्ना पिता थोरै छलिएकाले केही हुन नपाएको जानकारी दिनुभएको समाचारमा जनाइएको छ।
‘उहाँसहित हामी सवार सवारी साधनलाई नै लक्षित गरेर आक्रमण भएको थियो, तर गाडीमा भएका सबै जना सुरक्षित रहन सफल भएका छौँ,’ उपराष्ट्रपतिका छोरा एबाद सालेहले सामाजिक सञ्जालमा लेलेका छन्।
स्थानीय समय अनुसार बुधबार विहान साढे सात बजे विस्फोटन भएको खबर प्रहरीलाई प्राप्त भएको थियो। त्यसपछि प्रहरी तत्कालै घटनास्थलमा गएको थियो। घटनाका बारेमा अहिलेसम्म कसैले पनि जिम्मेबारी नलिएको र घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको प्रहरीले जनाएको छ।
