अमिताभ बच्चनले सुरु गरे ‘कौन बनेगा करोडपति’ को १२ औं सिजन

विविध

भारतको चर्चित कार्यक्रम ‘कौन बनेगा करोडपति’ को यस वर्षको शुटिङ सुरु भएको छ । गत महिनामात्रै कोरोना भाइरस संक्रमणमुक्त भएका अभिनेता अमिताभ बच्चनले कार्यक्रमको शुटिङ सुरु गरेका हुन् ।

कोरोना महामारीका कारण यसवर्ष केसीबीको शेटमा दर्शकको उपस्थिति भने नहुने भएको छ ।

अमिताभ बच्चनले केही तस्बिर ट्विट गर्दै लेखेका छन्, ‘१२ औं  केसीबीः कौन बनेगा करोडपति आरम्भ !’ कार्यक्रमको नयाँ गाइडलाइन अनुसार कार्यक्रममा प्रत्यक्ष रुपमा दर्शकले सहभागिता जनाउँन पाउने छैनन् ।

यसका साथै सेटमा काम गर्ने पनि सीमित संख्यामा मात्रै हुनेछन् । बच्चनले सार्वजनिक गरेको तस्बिरमा ‘क्रु मेम्बर’ पीपीई किट लगाएर बसेको देखिएको छ ।

कौन बनेगा करोडपतिको यो १२ औं सिजन हो । दर्शक नभएका कारण शोको फर्म्याट परिवर्तन गर्नुपर्नेछ । खासगरी ‘अडियन्स पोल लाइफलाइन’ परिवर्तन गर्नुपर्ने भएपनि शोसँग जोडिएका व्यक्तिलाई नयाँ फर्म्याटबारे जानकारी दिइएको छैन ।

लकडाउनका बावजुद मुम्बईमा सिरियल र फिल्मको शुटिङ बन्द थियो । अमिताभ बच्चनले आफ्नो घरबाट नै दर्शकलाई प्रश्न गरिरहेका थिए । यसको प्रोमो शुट पनि पहिलो पटक उनले घरबाट नै गरेका छन् ।

कार्यक्रममा भाग लिनका लागि दर्ता अनलाइनमार्फत गरिएको थियो भने पहिलो पटक अडिशन पनि घर बसेर नै गरिएको थियो ।

तर गत जुलाईमा अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टि भएपछि कार्यक्रमको भविष्यलाई लिएर अनेक अट्कलबाजी भएका थिए ।