टाटा मोटर्सका व्यवसायिक गाडी बिक्री वितरणका लागि सिप्रदी ट्रेडिङ प्रा.लि.को आधिकारिक डिलर शशिला मोटर्स प्रा.लि.ले गाडी खरिदका लागि अनलाईन सुविधा दिने भएको छ । प्रा.लि.ले कोभिड १९ का कारण विशेष सावधानी अपनाउनु पर्ने भएकाले घरमै बसेर आफूले खोजेको गाडी बुकिङ गर्न मिल्ने सुविधाको शुभारम्भ गरेको हो । यससंगै अब उपभोक्ताले टाटाका ब्यवसायिक गाडीहरु सजिलै अनलाइनबाटै खरिद गर्न सक्नेछन् । प्रा. लि.ले shasheelamotors.com मार्फत नेपालमै पहिलो पटक यो सेवा सुरु गरेको हो । यसअघि केही कम्पनीहरुले निजी कार अनलाइनबाट खरिद विक्री गर्ने गरेको भए पनि ब्यवसायिक गाडीहरुमा यस्तो सुविधा थिएन ।
शशिला मोटर्सका प्रवन्ध निर्देशक सन्तोष खतिवडाले उपभोक्ताको आवश्यकता र सहजतालाई मध्यनजर गर्दै यो सेवालाई थप परिमार्जित गर्दै लैजाने बताए । अबको बजार भनेको डिजिटल मार्केट नै भएकाले यसलाई ब्यापक र सर्वसुलभ बनाउँदै लैजानुको विकल्प नभएको उनको भनाइ छ । वेब साइट भित्रको शोरुममार्फत उपभोक्ताले आफूलाई आवश्यक पर्ने जुन सुकै मोडलका नयाँ, पुराना गाडी सजिलै छान्न सक्नेछन् । यो सेवा अन्तर्गत टाटाका जुनसुकै मोडलका नयाँ ब्यवसायिक गाडीहरु अनलाइनमै वुकिङ गरि खरिद गर्न सकिनेछ । जसमा उपभोक्ताले नयाँ गाडी खरिदको सुविधा वाहेक पुराना गाडी समेत खरिद विक्री गर्न पाउनेछन् । आफूसंग भएका पुराना ब्यवसायिक गाडी विक्री गर्न चाहने विक्रेताले गाडीबारे विस्तृत विवरण र फोटो सजिलै वेब साइटमा अपलोड गर्न सक्नेछन् ।
शशिला मोटर्सले आफ्नो सम्पर्कमा रहेका पुराना गाडी किन्न चाहने उपभोक्ता र बेच्न चाहने विक्रेताविच समन्वय गरिदिनेछ भने आफैंले पनि पुराना गाडी किन्नेछ । क्रेताले विक्रेतासंग भएको गाडी प्रत्यक्ष हेर्न चाहेको अवस्थामा समेत कम्पनीले त्यसको ब्यवस्था मिलाइदिनेछ । जसले गर्दा पुराना गाडी किन्न वा बेच्न चाहनेले अन्यत्र कतै भौंतारिनु पर्ने छैन ।

