उपत्यकामा संक्रमण बढेपछि होटल रेस्टुरेन्ट बन्द गर्ने सरकारको निष्कर्ष

विविध

काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण बढ्न थालेपछि सरकारले होटल रेष्टुराँहरू पुन: बन्द गर्नु पर्ने निस्कर्ष निकालेको छ।

व्यवस्थित रुपमा सञ्चालन नभएका उपत्यका भित्रका खाजा घर तथा रेस्टुरेन्टहरुबाट जोखिम बढेको भन्दै तिनलाई फेरि बन्द गराउने निष्कर्षमा सरकार पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार बसेको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसीए) को बैठकले यस्तो निर्णय गरेको हो। उपत्यकामा सञ्चालित धेरै खाजा घर तथा रेस्टुरेन्ट न्यूनतम स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरी सञ्चालन गरेको जानकारी आएको भन्दै यसमा सुधार नगर्नेहरूलाई बन्द गर्ने निष्कर्ष निकालिएको मन्त्रालयका सह-प्रवक्ता डा. समिर अधिकारीले बताए।

‘हाल उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएकाले व्यवस्थितरुपमा सुरक्षा मापदण्ड पूरा नगरी चलाइएका होटल रेस्टुरेन्ट केही समय बन्द गर्नुपर्ने निचोडसहितको सिफारिस स्वास्थ्यले गरेको हो ।

यस्तै आइतबारकै बैठकले उपत्यका भित्र परीक्षण मापदण्ड अनुसार जाँच गर्नुपर्ने व्यक्तिहरुको नमूना संकलन गर्न अस्पतालहरुलाई बुथ तोक्ने समेत निर्णय गरेको छ। अहिले उपत्यकाका केही अस्पतालबाट मात्रै नमुना लिने गरिएको छ ।

कोरोना परीक्षण मापदण्ड पुगेका व्यक्तिहरु आफ्नो पायक पर्ने ठाँउबाट नमूना दिन नपाउँदा जोखिम झन् झन् बढ्न पुगेको निस्कर्ष निकाल्दै यस्तो निर्णयमा पुगेको हो। सरकारले उपत्यकाका होटल रेस्टुरेन्ट यही साउन १५ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको थियो।

तर साना होटलहरु भने असारबाट नै सञ्‍चालनमा आएका थिए। ती होटलहरुले न्यूनतम् सुरक्षा मापदण्ड पूरा नगरेको गुनासो आएको थियो। चैत्र ११ गतेदेखि गरिएको लकडाउन साउन ७ गते अन्त्य भएको थियो।

यस्तै मन्त्रालयले अहिलेसम्म गरेका कामहरुको स्वतन्त्र अडिट गर्ने गरी एउटा स्वतन्त्र प्राविधिक निकायलाई जिम्मेवारी दिने निर्णय गरेको छ। लकडाउन खुलेपछि काठमाडौं उपत्यकामा कोरोना संक्रमण धेरै देखिँदै गएको छ। आज मात्रै उपत्यकामा ५१ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो चौबिस घण्टामा काठमाडौँमा ४३ जना, ललितपुरमा ३ जना र भक्तपुरमा ५ जनामा संक्रमण देखिएको हो।