
काठमाडौँ । लोकसंगीतलाई व्यावसायीक बनाउने प्रयास स्वरुप नेपाली टिभी च्यानलमा सर्वाधिक रुचाइएको रियालिटी शो विधासँग लोक संगीतलाई समायोजन गरी नेपाल लोक स्टार कार्यक्रम जन्मेको हो ।यस कार्यक्रमको लागत करिब १० करोड रुपैया रहेको छ । यस अर्थमा नेपाल लोक स्टार नेपालको सबै भन्दा ठूलो मौलिक रियालिटी शो भन्दा फरक नपर्ला । यसको निर्माण चाहना मिडियाले आफ्नै मौलिक संगीतलाइ अन्तर्राष्ट्रिय फर्म्याटमा ढाली आफ्नै नेपाली ब्राण्डमा बन्न लागेको शोको निर्माणमा संलग्न सम्पूर्ण म्यानपावर नेपाल आइडल-२ र बुगी बुगी सिजन १ को निर्माणमा संलग्नव्यक्तिहरु हुन् । यस कार्यक्रमको प्रमोशन र बजार व्यवस्थापन गर्नको लागि एड प्याड प्रालिलाई आधिकारीक एजेन्सी दिएको छ ।
७ वटै प्रदेशमा अडिसन आयोजना गरी हजारौको संख्यामा आएका लोक दोहोरी गायक गायिकाहरु मध्येबाट सरदर प्रति प्रदेश ५० प्रतिस्पर्धी ओपन अडिसनबाट छनोट गरिएको थियो । ओपन अडिसन फाल्गुन १६ गते शुरु भई चैत्र २५ गते समाप्त भएको थियो । त्यस पश्चात् ओपन अडिसनबाट छनौट भएका ३५० प्रतिस्पर्धीहरुलाई प्रदेश अनुसार जज अडिसनमा सहभागी गराइएको थिए ।

जज अडिसनबाट १०९ प्रतिस्पधी छनौर्ट भइ मेघा अडिसनमा प्रवेश गरेका थिए, जसबाट जजले शीर्ष २५ को छनौट गरिसकेका छन् । नेपाल लोक स्टार प्रतियोगिताबाट ३ जना विजेता छनौट गरिने छ । जसमा प्रथम विजेतालाई ५० लाख द्धितीय विजेतालाई २५ लाख र तृतिय विजेतालाई १० लाख नगद पुरस्कारका साथै तीनै विजेतालाई एल्बमको कन्ट्रयाक दिईने छ ।
नेपाल लोक स्टारको जजमा जयनन्द लामा, बिबि अनुरागी, सुनीता दुलाल र रामजी खाँड रहेका छन् । मेघा अडिसनसम्मको सबै सुटिंग पुरा भई सकेको छ र आगामी असार १२ गते बाट प्रत्येक बिहीबार र शुक्रबार बेलुकी साढे ८ बजे यसको प्रसारण एपी वान एचडीमा हुदै छ । यस कार्यक्रमको ३६ श्रृखला निर्माण गरिने छ ।
यस कार्यक्रमको मूलभावसँग प्रभावित भई यस कार्यक्रम निर्माण प्रमुख प्रायोजकको रुपमा विश्व प्रतिष्ठीत रेमिट्यान्स तथा डिजिटल सर्भिस कम्पनी आएमइ पे आबद्ध भएको छ । आइएमइ र नेपाल लोक स्टारको सम्झौता दुई सिजनको लागि गरिएको हो ।
यस सम्झौता पश्चात् यस कार्यक्रमको नाम आइएमइ नेपाल लोक स्टार रहने छ । सम्झौता अन्तर्गत आइएमइ नेपाल लोक स्टारको भोटिंग राउन्ड्समा आइएमइ एपमार्फत भोटिंग गरिने छ ।
