
गुठी विधेयकको विरोधमा राजधानीको बसन्तपुर दरबार क्षेत्रमा प्रर्दशन भएको छ । ज्यापू महागुठी नेवाः केन्द्रीय समितिको आह्वानमा शनिबार विहान बसन्तपुरदरबार क्षेत्रमा विरोध प्रदर्शन गरिएको हो । ज्यापू महागुठी अन्तर्गतका विभिन्न गुठीका गुठीयार तथा सर्वसाधरण सम्मिलित प्रदर्शनमा परम्परागत धार्मिक, सांस्कृतिक धरोहर अतिक्रमण गर्ने गरि गुठी विधेयक ल्याईएको भन्दै विरोधमा नाराबाजी गरिएको थियो ।प् रदर्शनकारीले नेवाः एकता जिन्दावाद, गुठी विधेयक खारेज गर, सांस्कृतिक अतिक्रमण बन्द गर, नेवा अव जाग्दैछ, आफ्नो अधिकार खोज्दैछ लगायतका नारा लगाएका थिए । ज्यापू महागुठी अन्तर्गतका गुठीहरुहरुको संलग्नतामा निकालिएको विरोध र्यालीले न्यूरोड, जैसीदेवल लगायतका स्थान हुँदै बसन्तपुरदरबार क्षेत्र पुगी कोणसभामा परिणत भएको थियो । सरकारले ल्याएको गुठी विधेयकको सडक देखि सदन सम्म विरोध हुँदै आएको छ । सत्तारुद दलकै सांसदहरुले पनि यो विधेयकको विरोध गर्दै आएका छन् । सरकारले मुलुकभरका गुठीहरुको व्यवस्थापन लगायतका कामका लागि प्राधिकरण गठन गर्ने र गुठीको जग्गा भोगचलन गर्दै आएका किसानको नाममा रजिष्ट्रेशन पास गरिदिने व्यवस्था सहितको गुठी विधेयक ल्याएपछि त्यसले परम्परागत धार्मिक तथा सांस्कृतिक धरोहरको अस्तित्व समाप्त पार्ने भन्दै मुलुकभरका गुठीहरु विरोधमा उत्रिएका हुन् । गुठी विधेयकको विरोधमा राजधानी लगायत मुलुकका विभिन्न स्थानमा दैनिकजसो विरोध प्रदर्शन हुँदै आएको छ भने संघीय संसदमा पनि सांसदहरुले विधेयकको विरोध गर्दै आएका छन् ।
