मेडिकल बेथितिका पक्षमा अदालत : अवैध भर्ना विद्यार्थीले परीक्षा दिन पाउने

स्वास्थ्य-शिक्षा

काठमाडौं, ४ जेठ । सर्वोच्च अदालतले मेडिकल जानकी मेडिकल कलेजले अवैध रूपमा भर्ना गरेका विद्यार्थीको पक्षामा अन्तरिम आदेश दिएको छ। न्यायाधीश केदारप्रसाद चालिसे र मनोजकुमार शर्माको संयुक्त इजलाशले जानकी मेडिकल कलेजले अवैध रूपमा भर्ना गरेको विदेशी विद्यार्थीलाई परीक्षामा सहभागी गराउन आदेश दिएको हो।त्रिभुवन विश्वविद्याल चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को भर्ना सूचनाविपरीत प्रवेश परीक्षामा नै सहभागी नभई अवैध रूपमा भर्ना भएर अध्ययन गरिरहेका विदेशी विद्यार्थीले हालेको रिटमा सर्वोच्चले आइओएमलाई परीक्षामा सम्मिलित गराउन आदेश दिएको हो। ‘आगामी जेठ ७ गतेदेखि सुरु हुने प्रथम वर्षको परीक्षामा यी निवेदकहरूलाई परीक्षामा फर्म भर्न दिई परीक्षामा सम्मिलित हुन दिनू–दिलाउनू’ सर्वोच्चले त्रिभुवन विश्वविद्यालयसमेतको नाममा जारी गरेको अन्तरिम आदेशमा भनिएको छ।जानकी मेडिकल कलेजका सञ्चालकहरू अवैध रूपमा भर्ना गरिएका विदेशी विद्यार्थीलाई वैधानिकता प्रदान गर्ने उद्देश्यले पाँच महिनान उच्च अदालत गएका थिए। पाटन उच्च अदालतले मेडिकल कलेजको पक्षमा आदेश दिन अस्वीकार गरेको थियो। तर सर्वोच्च अदालतले त्यसलाई वैधानिकता प्रदान गर्नेगरी अन्तरिम आदेश दिएको छ। उच्च अदालतले आफ्नो पक्षमा आदेश दिन अस्वीकार गरेपछि जानकी मेडिकल कलेजले विद्यार्थीलाई प्रयोग गरेर चलाखीपूर्ण ढंगले रिट निवेदन दर्ता गराएको पाइएको छ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।