काठमाडौं, जेठ २३ः निजी क्षेत्रले कोरोना भाइरस सङ्क्रमण रोकथाम र उपचारका लागि स्वास्थ्य सामग्रीको आयात गरेसँगै तातोपानी भन्सार कार्यालयको राजश्व सङ्कलनमा सकारात्मक प्रभाव देखिएको छ ।
सो कार्यालयका प्रमुख लालबहादुर खत्रीका अनुसार गत सोमबारसम्ममा चालू वर्षको राजश्व एक अर्ब २७ करोड २६ लाख रुपैया सङ्कलन भएको छ । गत फागुनसम्ममा एक अर्ब आठ करोड ९५ लाख रुपैया राजश्व सङ्कलन भएको थियो ।
गत चैत २६ गतेदेखि अहिलेसम्म १८ करोड ३१ लाख रुपैया राजश्व असुली भएको छ । सरकारले स्वास्थ्य सामग्रीको आयातमा भने भन्सार शुल्क मिनाहा गरेको छ ।

गत चैत २६ देखि सो भन्सार पुनः सञ्चालनमा ल्याइएको थियो । सो नाकाबाट सबैभन्दा बढी कोभिड–१९ रोकथाम र परीक्षणसँग सम्बन्धित सामग्री आयात भएको छ । लकडाउन जारी रहँदा सो नाकाबाट एक अर्ब ७८ करोड २५ लाख रुपैयाको सामान भित्रिएको छ ।
