जनकपुर । मधेश प्रदेशमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने हिंसाका घटना चुनौतीका रूपमा देखिएका छन् ।
जनकपुरधाममा बिहीबार आयोजित प्रदेशस्तरीय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्बन्धि अन्तरक्रिया कार्यक्रमा मधेश प्रदेश प्रहरी कार्यालयका महिला सेल शाखा ईन्चार्ज बसन्त सुनारले प्रस्तुत गरेको तीन वर्षको तथ्याङ्कअनुसार घरेलु हिंसा, जबर्जस्ती करणी, बहुविवाह, बालविवाह तथा बाल यौन दुव्र्यवहारका घटना उल्लेख्य संख्यामा दर्ता भएका छन् ।
तथ्यांक अनुसार आर्थिक वर्ष २०८०÷०८१ देखि २०८३÷०८४ को कात्तिक मसान्तसम्मको विवरणअनुसार पछिल्ला तीन आर्थिक वर्ष र चालु आर्थिक वर्षको कात्तिकसम्म महिला तथा बालबालिकासम्बन्धी विभिन्न अपराधका हजारौँ उजुरी तथा मुद्दा दर्ता भएका छन् ।
आर्थिक वर्ष २०८०÷०८१ मा महिला तथा बालबालिकासम्बन्धी ६ हजार १८० घटना दर्ता भएका थिए । आर्थिक वर्ष २०८१/०८२ मा यो संख्या बढेर ७ हजार ५२६ पुगेको थियो । आर्थिक वर्ष २०८२÷०८३ मा भने ५ हजार ८८८ घटना दर्ता भएका छन् । चालु आर्थिक वर्ष २०८३/०८४ को कात्तिक मसान्तसम्म १ हजार ८५१ घटना दर्ता भइसकेका छन् ।
दर्ता भएका घटनामध्ये घरेलु हिंसाको संख्या सबैभन्दा बढी देखिएको छ । आर्थिक वर्ष २०८१÷०८२ मा मात्रै घरेलु हिंसासम्बन्धी ६ हजार ९४४ निवेदन दर्ता भएका थिए । तीमध्ये ६ हजार ८२३ निवेदन फछ्र्योट गरिएको विवरणमा उल्लेख छ। त्यसैगरी महिला विरुद्धका ठाडो उजुरीतर्फ सोही वर्ष ७ हजार ८०७ निवेदन दर्ता भएका थिए ।
यस्तै, आत्महत्याको तथ्याङ्क पनि चिन्ताजनक देखिएको छ । प्रहरीको विवरणअनुसार आर्थिक वर्ष २०८१÷०८२ मा १ हजार २५० जनाले आत्महत्या गरेका थिए भने आर्थिक वर्ष २०८२÷०८३ मा यो संख्या बढेर १ हजार ३४३ पुगेको थियो। चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म थप ३७४ जनाले आत्महत्या गरेका छन् । तीन वर्षको उक्त अवधिमा कुल २ हजार ९६७ जनाले आत्महत्या गरेको तथ्याङ्कमा उल्लेख छ ।
आत्महत्या गर्नेमा पुरुषभन्दा महिलाको संख्या बढी देखिएको छ। प्रस्तुत तथ्याङ्कअनुसार तीन वर्षको अवधिमा १ हजार १५४ महिला र १ हजार ६७ पुरुषले आत्महत्या गरेका छन् । यसैगरी १३९ बालक र ६१२ बालिकाले समेत आत्महत्या गरेका छन् ।
महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरणका लागि प्रहरीले समुदायस्तरमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । आर्थिक वर्ष २०८१÷०८२ मा १ हजार ८२१ वटा कार्यक्रम सञ्चालन गरी ६५ हजार ४५८ जनालाई लाभान्वित गराइएको थियो ।
आर्थिक वर्ष २०८२/०८३ मा कार्यक्रमको संख्या बढाएर ४ हजार ६४९ पु¥याइएको थियो भने १ लाख २८ हजार २१३ जना लाभान्वित भएका थिए ।
चालु आर्थिक वर्ष २०८३/०८४ को कात्तिक मसान्तसम्म मात्रै प्रहरीले २ हजार ६५४ वटा समुदायस्तरीय कार्यक्रम सञ्चालन गरिसकेको छ । ती कार्यक्रमबाट ६१ हजार ५७८ जना लाभान्वित भएको प्रहरीको विवरणमा उल्लेख छ ।
कार्यक्रमहरूमा महिला हिंसा, घरेलु हिंसा, मानव बेचबिखन, बालविवाह, बहुविवाह, दाइजो प्रथा, जातीय छुवाछुत, साइबर अपराध तथा आत्महत्या न्यूनीकरणसम्बन्धी सचेतना समावेश छन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षाका लागि मधेश प्रदेशका आठवटै जिल्लामा महिला सहायता कक्षसमेत स्थापना गरिएको छ । प्रदेश प्रहरी कार्यालयसहित मातहतका जिल्लामा गरी ४२ वटा महिला सहायता कक्ष सञ्चालनमा रहेका छन् । त्यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र प्रदेशका विभिन्न ४१ स्थानमा सञ्चालनमा रहेको छ ।
हराएका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको खोजी तथा उद्धारमा समेत प्रहरीले काम गर्दै आएको छ। आर्थिक वर्ष २०८१÷०८२ मा हराएका ३ हजार ३१० जनामध्ये ३ हजार ८२ जना फेला परेका थिए ।
आर्थिक वर्ष २०८२/०८३ मा हराएका ३ हजार ३९० जनामध्ये ३ हजार २६७ जना फेला परेका थिए । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म हराएका ७२२ जनामध्ये ४०७ जना फेला परेका छन् ।



