२०७७ जेष्ठ २३ : काठमाडौँ – चलचित्र निर्देशक, निर्माता एवं गीतकार दयाराम दाहाल चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका छन् । तत्कालीन अध्यक्ष केशव भट्टराईको अचानक निधन भएपछि रिक्त रहेको पदमा सरकारले निर्देशक दाहाललाई २ वर्षका लागि नियुक्त गरेको हो । बोर्ड अध्यक्षका लागि १० जनाले सूचना तथा सञ्चार मन्त्रालयमा आवेदन दिएका थिए । तीमध्ये दाहाल, अभिनेता भुवन केसी र सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक राजेश थापाको नाम मन्त्रिपरिषदमा पुगेको थियो ।
तीमध्ये बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दाहाललाई बोर्ड अध्यक्षका लागि योग्य ठहर्याउँदै नियुक्त गर्ने निर्णय गरेको हो । फिल्म क्षेत्रमा प्रवेश गरेका दाहाल सन् १९९२ देखि फिल्म निर्माणमा अग्रसर छन् । दाइजो, दौँतरी, चाँदनी, ढुकढुकी, जंगे, तँ त साह्रै नै बिग्रिस बद्री, भाग्यविधाता, दोबाटोलगायतका दर्जनौं चर्चित चलचित्र निर्देशन गरेका छन् ।

