शिक्षा र चेतनाको बिकाससंगै बिकशित हुदै मरिक समुदाय, कम उमेरमा बिबाह हुदै आएकोमा बढायो बिबाहको उमेर

समाज

इनरुवा । सुनसरी हरिनगर गाउँपालिका–२ का भट्टाई मरिक र कोसी गाउँपालिका ६ की अमिरिका मरिक बीच करिव ४० बर्ष पहिले ७÷८ बर्षकै उमेरमा बिवाह भएको थियो ।

कम उमेरमै बिवाह भएपनि उहाँको सकुशल सन्तान हुनुका साथै दुवै जना घर परिवार चलाउँदै आएका छन् । भट्टाइ र अमिरिका मरिक समुदायमा उदाहरणका पात्र मात्र हुन् ।

मरिक समुदायका मानिसको परापूर्व कालदेखि कम उमेरमै बिवाह हुने गरेको भएपनि पछिल्लो समय २० बर्ष अर्थात राज्यले निर्धाण गरेको उमेरमै बिबाह हुने गरेको छ ।

शिक्षा र जनचेतनाको बिकाससंगै पछिल्लो समय मरिक समुदायका मानिस समेत शिक्षित हुँदै गएको छ ।

अहिले मरिक समुदायका मानिसले बालविवाह र दाइजो प्रथा जस्ता सामाजिक कुरीति न्यूनीकरणका लागि स्थानीयस्तरमा आवाज उठाउन थालेका छन् । विगतको तुलनामा बालविवाह गर्ने प्रवृत्तिमा परिवर्तन आएपनि दाइजोप्रथा भने अझै समाजमा कायम रहेको स्थानीय भट्टाई मरिकको भनाइ छ ।

विगतमा बाल्यकालमै अर्थात ७–८ बर्षको उमेरमा विवाह गरिदिने चलन रहेको स्मरण गर्नुहुदै अहिले युवायुवतीले १९–२० वर्षको उमेरमा मात्र विवाह गर्ने गरेको उनले बताए ।

कम उमेरमा विवाह गर्दा शिक्षा, स्वास्थ्य, पारिवारिक जीवन तथा भविष्यमा विभिन्न समस्या निम्तिन सक्ने भएकाले उमेर नपुगि विवाह गर्ने चलन अन्त्य हुदै आएको अमिरिका मरिकले बताए ।

बाल विवाह जस्ता कुरीति अन्त्य गर्न परिवार, समुदाय, स्थानीय तह तथा सामाजिक सङ्घसंस्थाले सामूहिक रूपमा अभियान सञ्चालन गर्नुपर्नेमा उनको जोड रहेको छ ।

सामाजिक कुरीति, अन्धविश्वास र विभेद अन्त्यका लागि निरन्तर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सके मात्र समानता, सामाजिक न्याय र सभ्य समाज निर्माणमा सहयोग पुग्ने देखिन्छ ।

त्यसैले यस तर्फ सम्बन्धीत निकायको ध्यान केन्द्रित हुनु अहिलेको आवश्यक्ता देखिन्छ ।

अजितकुमार झा, नेपाल न्यूज बैंक