फिन्टेकमा राष्ट्र बैंकको नयाँ पहल : नियमनबाट नवप्रवर्तनतर्फ

Headlines अर्थ बैंक/वित्त

डिजिटल वित्तीय सेवामा नयाँ प्रविधि भित्र्याउन ‘फिन्टेक नेक्सस’ अघि सारियो, स्यान्डबक्स र नवप्रवर्तन केन्द्रलाई प्रभावकारी बनाउने लक्ष्य

काठमाडौं । वित्तीय प्रविधि (फिन्टेक) क्षेत्रमा नयाँ सेवा र प्रविधि विकास भइरहेका बेला नेपाल राष्ट्र बैंकले नियमन र सुपरिवेक्षणसँगै नवप्रवर्तनलाई पनि प्राथमिकतामा राख्न थालेको छ। डिजिटल वित्तीय सेवामा नयाँ प्रयोगलाई प्रोत्साहन गर्ने र त्यसका लागि नियामक तथा निजी क्षेत्रबीच सहकार्य बढाउने उद्देश्यले राष्ट्र बैंकले ‘एनआरबी फिन्टेक नेक्सस’ संयन्त्र अघि सारेको छ।

राष्ट्र बैंकले सोमबार आयोजना गरेको ‘एनआरबी फिन्टेक इनोभेसन शोकेस इभेन्ट २०२६’ यसै पहलको एउटा हिस्सा हो। प्रदर्शनीमा बैंक तथा वित्तीय संस्था र फिन्टेक कम्पनीका २७ स्टलमार्फत डिजिटल बैंकिङ, भुक्तानी, कर्जा प्रवाह, साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ, वित्तीय ठगी नियन्त्रण तथा प्रविधिमा आधारित नियमनसम्बन्धी सेवा र प्रविधि प्रस्तुत गरिएका थिए। एक हजारभन्दा बढी प्रतिनिधिले प्रदर्शनी अवलोकन गरेका थिए।

राष्ट्र बैंकको पछिल्लो पहलले वित्तीय क्षेत्रमा प्रविधिको प्रयोग विस्तार गर्न मात्र नभई नयाँ सेवा विकास गर्ने कम्पनीलाई नियामकीय संरचनाभित्रै रहेर काम गर्ने वातावरण बनाउन खोजेको देखिन्छ। यसका लागि राष्ट्र बैंकले डिजिटल वित्तीय नवप्रवर्तन केन्द्र (डिजिटल फाइनान्स इनोभेसन हब) र नियामकीय परीक्षण संरचना (रेगुलेटरी स्यान्डबक्स) लाई प्रभावकारी बनाउने योजना अघि सारेको छ।

रेगुलेटरी स्यान्डबक्समार्फत नयाँ वित्तीय प्रविधि तथा सेवाको परीक्षण नियामकीय निगरानीमा गर्न सकिन्छ। यसले नयाँ प्रविधि प्रयोग गर्दा देखिन सक्ने जोखिम पहिचान गर्न र त्यसका आधारमा आवश्यक नीतिगत व्यवस्था बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

राष्ट्र बैंकले हालै सार्वजनिक गरेको ‘फिन्टेक रणनीति फर डिजिटल फाइनान्सियल सर्भिसेज (२०२६/२७–२०३०/३१)’ मा पनि फिन्टेक इकोसिस्टममा आबद्ध नवप्रवर्तक तथा सरोकारवालाबीच समन्वय र सहकार्य विस्तार गर्ने लक्ष्य राखिएको छ। आगामी दिनमा फिन्टेक कार्यशाला, ह्याकाथन र नवप्रवर्तन चुनौती सञ्चालन गर्ने राष्ट्र बैंकको योजना छ।

कार्यक्रमको उद्घाटन गर्दै गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले प्रविधिमा आधारित वित्तीय सेवाको प्रवर्द्धन राष्ट्र बैंकको प्राथमिकतामा रहेको बताए। फिन्टेक विस्तारसँगै वित्तीय क्षेत्रमा अवसर र चुनौती दुवै थपिएको उल्लेख गर्दै उनले वित्तीय स्थायित्व, सुरक्षित भुक्तानी प्रणाली र ग्राहक संरक्षण सुनिश्चित गर्नुपर्ने बताए।

उनका अनुसार नयाँ प्रविधिसँगै विकसित हुने जोखिमलाई सम्बोधन गर्दै नवप्रवर्तनलाई पनि प्रोत्साहन गर्नुपर्ने अवस्था छ। यसका लागि सरकार, नियामक निकाय, बैंक तथा वित्तीय संस्था र प्रविधि कम्पनीबीच सहकार्य आवश्यक रहेको उनले बताए।

प्रदर्शनीसँगै ‘डिजिटल लेन्डिङ एन्ड क्रेडिट फर अन्डरसर्भ्ड’ विषयमा प्यानल छलफलसमेत गरिएको थियो। छलफलमा डिजिटल कर्जा र वित्तीय सेवाको पहुँच कम भएका समूहसम्म प्रविधिको माध्यमबाट सेवा पुर्‍याउने विषय उठाइएको थियो।

राष्ट्र बैंकका लागि अबको चुनौती नयाँ प्रविधिलाई वित्तीय प्रणालीमा भित्र्याउनु मात्र होइन, त्यसबाट सिर्जना हुन सक्ने साइबर जोखिम, वित्तीय ठगी, ग्राहकको तथ्यांक सुरक्षा र कर्जा जोखिमलाई पनि व्यवस्थापन गर्नु हो। त्यसैले फिन्टेकको विकाससँगै नियामकीय क्षमता र उपभोक्ता संरक्षणलाई बलियो बनाउनु आवश्यक देखिन्छ।

२७ संस्थाको सहभागितामा भएको प्रदर्शनीले बैंक तथा वित्तीय संस्था र प्रविधि कम्पनीबीच विकसित भइरहेका सेवा तथा प्रविधि एकै ठाउँमा प्रस्तुत गर्ने अवसर दिएको छ। तर, यस्तो प्रदर्शनीबाट देखिएका नवप्रवर्तनलाई व्यवहारमा लागू गर्ने, सुरक्षित बनाउने र आम नागरिकको वित्तीय पहुँच विस्तारमा उपयोग गर्ने कामले नै राष्ट्र बैंकको नयाँ पहलको प्रभावकारिता निर्धारण गर्नेछ।