नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार बन्दै भैरहवा : गाउँदेखि व्यापारिक सहरसम्मको यात्रा
रुपन्देही । भैरहवाको पुरानो बजारमा अहिले पनि व्यापारिक इतिहासका अनेक कथा भेटिन्छन् । कुनै समय ढुंगैढुंगाको बाटो, फुसका घर, झाडी र छरिएका बस्तीबीच सीमित रहेको भैरहवा आज उद्योग, व्यापार, स्वास्थ्य सेवा, शिक्षा र पर्यटनको केन्द्र बनेको छ । यहाँका पुराना व्यवसायी नारायणप्रसाद अग्रवाललाई बाल्यकालको भैरहवा सम्झँदा अहिलेको सहरको स्वरुप निकै फरक लाग्छ ।
“त्यतिबेला भैरहवा अरु गाउँभन्दा अलिकति राम्रो गाउँजस्तै थियो,” वि.सं. २००५ सालमा भैरहवामै जन्मिएका अग्रवाल सम्झन्छन्, ‘बाटोमा ग्राभेल समेत थिएन, ढुंगैढुंगा हुन्थे । अहिलेको भीम अस्पतालभन्दा अगाडि जान पनि डर लाग्थ्यो ।”

अग्रवालको यो स्मृतिले भैरहवाको रुपान्तरणलाई बुझ्न सघाउँछ । कुनै समय सीमित बस्ती र कृषि उपजको कारोबारमा निर्भर यो ठाउँ आज नेपाल–भारत व्यापारको महत्वपूर्ण प्रवेशद्वार, औद्योगिक क्षेत्र र लुम्बिनीको पर्यटन आधारका रुपमा स्थापित छ । तर यो परिवर्तन एकैपटक भएको होइन । प्रशासनिक केन्द्रको विस्तार, हवाई मैदान निर्माण, सडक सञ्जाल, खाद्यान्न व्यापार र उद्योगको विकास हुँदै भैरहवाले सहरको स्वरूप ग्रहण गरेको हो ।
आज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बेलहिया–बुटवल व्यापारिक मार्ग, भैरहवा भन्सार, विशेष आर्थिक क्षेत्र (सेज), लुम्बिनी करिडोरका उद्योग र ठूला स्वास्थ्य संस्थाले यस क्षेत्रको आर्थिक सम्भावना बढाएका छन् । यद्यपि पूर्वाधार निर्माणअनुसार आर्थिक लाभ र रोजगारी विस्तार हुन नसकेको प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ ।
गाउँ, झाडी र छरिएका बस्तीको भैरहवा
भैरहवाको पुरानो इतिहास खोतल्दा आजको बजार क्षेत्रभन्दा बाहिर रहेका बस्तीहरुको महत्व देखिन्छ । कचरिहवा, पक्लिहवा, मेउडिहवा, नौडिहवा, बहडिलवा, मतखोलवा, दोगहरा, शंकरपुर, पिपरहिया र कठौतियाजस्ता बस्तीहरु यस क्षेत्रको पुरानो बसोबाससँग जोडिएका छन् । स्थानीय जनश्रुति र इतिहासका विवरणअनुसार त्यतिबेला यहाँ खेतीयोग्य जमिन, झाडी, जंगल र छरिएका बस्ती थिए । थारु, बोटे तथा अन्य स्थानीय समुदायको बसोबास रहेको यस भूभागमा कृषि र परम्परागत पेसा जीविकाका प्रमुख आधार थिए ।
भैरहवा नामकरणबारे पनि विभिन्न धारणा छन् । इतिहासकार विजय सागरका अनुसार, पाल्पाका राजा मणिमुकुन्द सेनसँग सम्बन्धित भैरवको गुठीबाट यस ठाउँको नाम विकसित भएको हुन सक्ने मत छ । उनका अनुसार भैरवको गुठी रहेको स्थानलाई ‘भैरव हवा’ भनिँदै जाँदा ‘भैरहवा’ नाम बनेको हुन सक्छ । तर यो व्याख्यालाई स्थापित ऐतिहासिक तथ्य मान्न थप प्रमाण र अनुसन्धान आवश्यक छ ।
वि.सं. १९९० आसपाससम्म यहाँको बस्ती सीमित थियो । प्रशासनिक गतिविधि विस्तार हुन थालेपछि भने यसको महत्व बढ्दै गयो । इतिहासकार सागरका अनुसार, भैरहवालाई प्रशासनिक केन्द्रका रुपमा विकास गर्ने प्रक्रिया सुरु भएसँगै सरकारी कार्यालयहरू स्थापना हुन थाले र बाहिरबाट मानिसहरु बसाइँ सर्ने क्रम बढ्यो ।
अग्रवालका अनुसार, त्यतिबेला केही प्रमुख प्रशासनिक अधिकारी भैरहवामै बस्ने भए पनि सरकारी अड्डाहरु बेथरीमा थिए । पछि ती कार्यालयहरु भैरहवा सर्न थाले । सरकारी कार्यालय, कर्मचारी र सेवाग्राहीको आवागमन बढेपछि बजार पनि विस्तार हुन थाल्यो । गाउँका मानिसहरु किनमेल र प्रशासनिक कामका लागि भैरहवा आउन थाले ।
यसरी प्रशासनिक गतिविधिले भैरहवालाई गाउँबाट बजारतर्फ लैजाने आधार तयार ग¥यो ।

हवाई मैदानदेखि नगरपालिकासम्म
भैरहवाको विकासमा हवाई मैदानको भूमिका महत्वपूर्ण रह्यो । शान्तिनगर क्षेत्रमा सुरुमा कच्ची हवाई मैदान थियो । अग्रवालको स्मृतिमा त्यस क्षेत्रको विकाससँगै पसलहरु खुल्न थालेका थिए । हवाई आवागमनले यस क्षेत्रको चहलपहल बढाउनुका साथै भैरहवाको पहिचानलाई फराकिलो बनाउन सहयोग ग¥यो ।
इतिहासकार विजय सागरका अनुसार, वि.सं. २०१७ सालतिर भैरहवा आउँदा बजारमा एकाध फुसका घर र सडकमा ढुंगाका बोल्डर मात्र देखिन्थे । बुटवल पुग्न चारदेखि पाँच घण्टा लाग्थ्यो । अहिलेका व्यवस्थित सडक र यातायात सुविधासँग तुलना गर्दा त्यतिबेलाको अवस्था निकै कठिन थियो ।
अग्रवालले शान्तिनगरको पुरानो हवाई मैदानमा भएको एउटा विमान दुर्घटना पनि सम्झन्छन् । बाल्यकालमा गाउँबाट बैलगाडामा फर्किंदै गर्दा विमान खसेको देखेको उनको स्मृति छ । त्यतिबेला उपचारका लागि पर्याप्त अस्पताल र स्वास्थ्य सुविधा नहुँदा घाइतेको उपचार कठिन हुने गरेको उनी बताउँछन् । यो सम्झनाले भैरहवाको पुरानो भौतिक अवस्थासँगै स्वास्थ्य सेवाको सीमिततालाई पनि उजागर गर्छ ।
वि.सं. २०२४ सालमा भैरहवा नगर पञ्चायतका रुपमा औपचारिक नगर घोषणा भयो । वि.सं. २०३३ सालदेखि यसको नाम सिद्धार्थनगर राखियो । भगवान् गौतम बुद्धको बाल्यकालको नाम सिद्धार्थसँग जोडिएको यो नामले लुम्बिनी क्षेत्रको सांस्कृतिक पहिचानलाई पनि प्रतिनिधित्व गर्छ ।
आज सिद्धार्थनगर नगरपालिका १३ वडामा विभाजित छ । उपलब्ध नगरपालिकाको विवरणअनुसार यहाँ ७४ हजार ४३६ जनसंख्या र १५ हजार ८७१ घरधुरी छन् । जनघनत्व प्रतिवर्ग किलोमिटर २ हजार ६६ जना छ । साक्षरता दर ८६.१ प्रतिशत पुगेको सिद्धार्थनगर नगर पालिकाका सूचना अधिकारी देव ज्ञवालीले जानकारी दिए ।
यी तथ्यांकले भैरहवा अब सानो गाउँ रहेन, बढ्दो जनसंख्या र आर्थिक गतिविधि व्यवस्थापन गर्नुपर्ने सहरी केन्द्र बनिसकेको पुष्टि गर्छन् ।

सडकले बदलेको व्यापारको दिशा
भैरहवाको आर्थिक इतिहासमा सडक विकास एउटा निर्णायक मोड हो । कुनै समय सुनौलीबाट बुटवल पुग्ने बाटो सहज थिएन । हालको पक्लिहवाबाट मैत्रीपथ, नारायणपथ हुदै बुटवल पुगिन्थ्यो । ढुंगैढुंगा, धुलाम्मे र खाल्डाखुल्डी सडकमा यात्रा गर्न घण्टौँ लाग्थ्यो । मालसामान ढुवानीका लागि साइकल, घोडा र बयलगाडाको प्रयोग हुन्थ्यो ।
“हामी साइकलमा कपडा र अन्य सामान राखेर परासी, लुम्बिनी, कक्रहवा र आसपासका गाउँसम्म पु¥याउँथ्यौँ,” अग्रवाल सम्झन्छन्, “कतिपय ठाउँमा घोडाबाट सामान जान्थ्यो, कतै बयलगाडाबाट ।”
त्यतिबेला भैरहवा र भारतीय बजार नौतनवाबीचको व्यापारिक सम्बन्ध निकै बलियो थियो । अग्रवालका बुबा व्यापारका लागि नौतनवामा बस्ने र दैनिक भैरहवा आउने–जाने गर्थे । भैरहवामा भन्सारको कामसमेत हालको राधाकृष्ण मन्दिर नजिकै भाडामा लिइएको भवनबाट हुने गरेको उनी बताउँछन् । भारतबाट आएका कपडा तथा अन्य सामानको जाँच र छाप लगाएपछि व्यापारीले आफ्नो कारोबार अघि बढाउँथे ।
सुनौली–बुटवल सडकको विकास र पछि सिद्धार्थ राजमार्गको विस्तारले भैरहवाको व्यापारलाई नयाँ गति दियो । तराईको सीमावर्ती बजार बुटवल हुँदै पहाडी क्षेत्रसँग जोडिएपछि सामान ढुवानी सहज हुन थाल्यो । यसले व्यापारको पुरानो केन्द्र परिवर्तन गर्ने आधार तयार ग¥यो ।
पहिले गल्ला र घ्यूको कारोबारमा बुटवलको प्रभाव बढी थियो । किसानले धान–चामल बिक्री गर्न बुटवल पुग्नुपथ्र्यो । सडक र व्यापारिक सम्पर्क विस्तारसँगै भैरहवामा गल्ला कारोबार बढ्यो । कृषि उपज यहीँ संकलन हुन थाल्यो र यहाँबाट अन्य सहर तथा भारततर्फ पठाउन थालियो ।
सडकले यातायात मात्र सहज बनाएन, बजारको भूगोलसमेत बदल्यो । सामानको कारोबार बढेसँगै गोदाम, पसल, ढुवानी सेवा र आवासीय बस्ती विस्तार भए । भैरहवा क्षेत्रीय व्यापारिक केन्द्रका रुपमा स्थापित हुने प्रक्रिया यहीँबाट तीव्र बन्यो ।
तोरीको तेलदेखि चामल निर्यातसम्म
भैरहवाको औद्योगिक पहिचानको जग कृषि उपजको प्रशोधनमा थियो । यस क्षेत्रमा धान, तोरी र आलसको उत्पादन राम्रो हुने भएकाले तेल र चामल उद्योग विस्तारको सम्भावना थियो ।
पुराना व्यवसायी अग्रवालका अनुसार, वि.सं. २०११ सालमा गौरी आयल मिल स्थापना भएपछि भैरहवामा तोरीको तेल उत्पादनले गति लियो । पहिले यहाँको तोरी नौतनवा लगेर प्रशोधन गरिन्थ्यो र तेल फेरि नेपाल ल्याइन्थ्यो । स्थानीयस्तरमै मिल सञ्चालन भएपछि उत्पादन लागत घटाउने र भारततर्फ तेल पठाउने सम्भावना बढ्यो ।
त्यसपछि चामल मिल र प्लास्टिक उद्योग पनि थपिँदै गए । धान–चामलको कारोबार विस्तार भएपछि भैरहवा निर्यात व्यापारको केन्द्र बन्यो । यहाँबाट ट्रकमा चामल नौतनवाको रेलवे मालगोदामसम्म पु¥याइन्थ्यो । त्यहाँबाट रेलमार्फत भारतका विभिन्न सहरसम्म सामान पठाइन्थ्यो ।
“त्यतिबेला यहाँबाट चामल भारतका टाढाटाढाका बजारसम्म जान्थ्यो,” अग्रवाल भन्छन्, “ट्रकमा सामान पु¥याएर रेलका डिब्बामा लोड गरिन्थ्यो । व्यापार राम्रो थियो ।”
उनका अनुसार, धान–चामलसँगै तोरीको तेल र घ्यूको कारोबार पनि उल्लेख्य थियो । दाङ, तुलसीपुर, नवलपुरलगायत क्षेत्रबाट तोरी ल्याइन्थ्यो । स्थानीय उद्योगमा प्रशोधन गरेर बजारमा पठाइन्थ्यो । बुटवल घ्यूको कारोबारको केन्द्र थियो र त्यहाँबाट भारतीय बजारमा घ्यू जाने गथ्र्यो ।
इतिहासकार विजय सागरका अनुसार, भैरहवामा धान–चामल निर्यात कम्पनी, चिनी मिल र कपडा उद्योगजस्ता उद्योग सञ्चालनमा थिए । कृषि उपजमा आधारित उत्पादन नेपालभित्र मात्र सीमित नभई बंगलादेश, श्रीलंका, मलेसिया र अमेरिकासम्म पुगेको उनको भनाइ छ ।
भैरहवाको त्यो आर्थिक इतिहासले स्थानीय उत्पादन र प्रशोधन उद्योगको महत्व देखाउँछ । किसानले उत्पादन गर्ने, उद्योगले प्रशोधन गर्ने र व्यापारिक सञ्जालले बजारसम्म पु¥याउने चक्रले रोजगारी र आम्दानी सिर्जना गरेको थियो ।
तर यो चक्र लामो समय टिक्न सकेन ।

नीतिगत परिवर्तनसँगै खुम्चिएको उत्पादन
अग्रवालका अनुसार, सरकारी नीतिमा बारम्बार हुने परिवर्तन, कच्चा पदार्थको अभाव र आयातमा बढ्दो निर्भरताले स्थानीय उद्योगलाई कमजोर बनाउँदै लग्यो । कृषि उत्पादन घट्दै गएपछि उद्योगलाई आवश्यक धान, तोरी र अन्य कच्चा पदार्थको आपूर्ति कठिन भयो । विदेशबाट सस्तो सामान आउन थालेपछि स्थानीय उत्पादनले बजारमा प्रतिस्पर्धा गर्न सकेन ।
“पहिले हामी यहाँ उत्पादन गरेर भारत पठाउँथ्यौँ । अहिले बाहिरबाट सामान ल्याएर यहीँ बेच्ने अवस्था आयो,” उनी भन्छन्, “यहाँको उत्पादन बढाउन सकेनौँ भने उद्योगले कसरी निर्यात गर्छ ?”
उनको अनुभवमा आयातमा आधारित बजारले स्थानीय किसानलाई समेत असर पारेको छ । विदेशबाट सस्तो कच्चा पदार्थ ल्याएर प्रशोधन गर्ने प्रवृत्ति बढ्दा स्वदेशी कृषि उत्पादनको माग कमजोर भएको छ । यसले किसानको उत्पादन बढाउने उत्साह घटाएको र स्थानीय उद्योगको निर्यात सम्भावना खुम्च्याएको उनको तर्क छ ।
इतिहासकार सागरले पनि राजनीतिक खिचातानी, द्वन्द्व र नीतिगत अस्थिरताले उद्योगधन्दाको विकासमा असर पारेको बताउँछन् ।
यद्यपि भैरहवाको औद्योगिक विकास पूर्ण रुपमा रोकिएको छैन । पछिल्लो समय सिमेन्ट, स्टिल, जस्तापाता र अन्य निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरु विस्तार भएका छन् । कुनै समय भारतबाट आयात हुने कतिपय वस्तु अहिले नेपालमै उत्पादन भएर भारतीय बजारसम्म पुग्न थालेका छन् ।
शिक्षा, स्वास्थ्य र सेवाको केन्द्र
भैरहवाको विकास व्यापार र उद्योगमा मात्र सीमित रहेन । शिक्षा तथा स्वास्थ्य सेवाको विस्तारले पनि यसलाई क्षेत्रीय केन्द्रका रुपमा स्थापित ग¥यो ।
अग्रवालका अनुसार, उनका दाजुहरु पढ्न नौतनवा जानुपथ्र्यो, किनकि त्यसबेला भैरहवामा विद्यालयको सुविधा थिएन । स्थानीय विद्यार्थीले भारत जानुपर्ने बाध्यता हटाउन उनका बुबा नथमल अग्रवालले वि.सं. २००९ सालमा चार–पाँच कोठाको भवन बनाएर भैरहवा हाइस्कुल स्थापना गर्न सहयोग गरेका थिए । प्राथमिक तहबाट सुरु भएको विद्यालय क्रमशः माध्यमिक तहसम्म विस्तार भयो ।
यो प्रसंगले भैरहवाको सामाजिक विकासमा स्थानीय व्यवसायी र समुदायको योगदान देखाउँछ । व्यापारबाट आम्दानी गर्ने परिवारले शिक्षा र सार्वजनिक संस्थाको विकासमा लगानी गर्दा सहरको सामाजिक आधार पनि बलियो हुँदै गयो । अहिले भैरहवाको साक्षरता दर ८६.१ प्रतिशतर पुगेकोछ ।
स्वास्थ्य क्षेत्रमा रण अम्बिका आँखा अस्पताल र युनिभर्सल मेडिकल कलेजज, सिद्धार्थनगर सिटी अस्पताल स्ता संस्थाले भैरहवालाई उपचारको गन्तव्य बनाउन सहयोग गरेका छन् । रुपन्देहीसहित आसपासका जिल्लाबाट बिरामी आउँदा स्वास्थ्य सेवा मात्र होइन, होटल, भोजनालय, यातायात, औषधि पसल र अन्य व्यवसायमा पनि आर्थिक गतिविधि बढेको छ ।
शिक्षा र स्वास्थ्य सेवाको विस्तारले भैरहवाको अर्थतन्त्रलाई कृषि व्यापार र उद्योगभन्दा बाहिर विविधीकरण गरेको छ । यही विविधीकरणले यसलाई आसपासका गाउँ तथा बस्तीका लागि सेवा केन्द्र बनाएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थल ः सम्भावना ठूलो, लाभको प्रतीक्षा
भैरहवाको आधुनिक विकासमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सबैभन्दा महत्वपूर्ण पूर्वाधारमध्ये एक हो । लुम्बिनी आउने अन्तर्राष्ट्रिय पर्यटकलाई सीधै यस क्षेत्रमा ल्याउने, पर्यटन व्यवसाय विस्तार गर्ने र विदेशी लगानी आकर्षित गर्ने अपेक्षासहित विमानस्थल निर्माण गरिएको हो ।
यससँगै बेलहिया–बुटवल छ लेनको व्यापारिक मार्ग, भैरहवा–लुम्बिनी सडक, विशेष आर्थिक क्षेत्र र लुम्बिनी करिडोरका उद्योगले आर्थिक गतिविधि बढाउने आधार तयार गरेका छन् ।
तर अग्रवालको बुझाइमा विमानस्थलले अपेक्षित लाभ जनतासम्म पु¥याउन सकेको छैन । ठूलो लगानीमा बनेको पूर्वाधार सञ्चालन र उपयोगमा प्रभावकारी योजना आवश्यक रहेको उनी बताउँछन् ।
“अन्तर्राष्ट्रिय विमानस्थल बन्यो, सरकारले धेरै लगानी ग¥यो । तर त्यसको लाभ जनताले पाउन सकेका छैनन्,” उनी भन्छन् ।
विमानस्थललाई आर्थिक विकाससँग जोड्न नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटकको आगमन, होटल तथा यातायात सेवाको विस्तार र लुम्बिनीसहित आसपासका गन्तव्यको प्रभावकारी प्रचार आवश्यक छ । विमानस्थल सञ्चालन हुनु मात्र पर्याप्त हुँदैन; त्यसबाट सिर्जना हुने अवसर स्थानीय व्यवसायी, श्रमिक र समुदायसम्म पुग्नुपर्छ ।
भैरहवाको सीमावर्ती अवस्थिति पनि यसको विशेष आर्थिक शक्ति हो । बेलहिया नाकाबाट हुने आयात–निर्यातले भन्सार, ढुवानी, गोदाम, बैंकिङ, बीमा र अन्य सेवा व्यवसायलाई आधार दिएको छ ।

विकासका तथ्यांक र सहरी सेवाको चुनौती
भैरहवाको विकासलाई सडक र ठूला भवनका आधारमा मात्र हेर्न मिल्दैन । बढ्दो जनसंख्यालाई खानेपानी, ढल निकास, फोहोर व्यवस्थापन, सार्वजनिक खुला क्षेत्र र व्यवस्थित आवास उपलब्ध गराउनु पनि उत्तिकै महत्वपूर्ण छ ।
नगरपालिकाको उपलब्ध प्रगति विवरणमा आर्थिक वर्ष २०८१÷८२ सम्म सडक कालोपत्रे तथा ढलान १६.६५४ किलोमिटर, ग्राभेल सडक १९.०३७ किलोमिटर र ढल तथा नाला निर्माण १५.१७९ किलोमिटर उल्लेख छ । आर्थिक वर्ष २०८२÷८३ को विवरणमा क्रमशः २ किलोमिटर, ४.९ किलोमिटर र २.०५ किलोमिटर प्रगति देखाइएको छ ।
त्यस्तै, खानेपानी सेवाबाट लाभान्वित घरपरिवारको संख्या १५५ उल्लेख छ । विद्यालय भवन निर्माण २५, सामुदायिक भवन १२ तथा पार्क निर्माण ५ वटा भएको नगरपालिकाको तथ्यांक छ । नगरपालिकामा १९ वटा सार्वजनिक शौचालय, १ वटा ज्येष्ठ नागरिक गृह, कान्जी हाउस १ वटा, १ वटा खेलकुद मैदान १ वटा कभर्ड हल। मनोरञ्जन पार्क २ वटा शिशु क्रिडास्थल १ वटा र पर्यापर्यटन स्थल २ वटा रहेको तथ्यांकमा उल्लेख छ ।
तथ्यांकले एउटा महत्त्वपूर्ण प्रश्न उठाउँछ—व्यापारिक र औद्योगिक गतिविधि बढ्दै गएको सहरमा आधारभूत सहरी सेवा पनि सोही गतिमा विस्तार भएका छन् कि छैनन् ?
बढ्दो सवारी चाप, अव्यवस्थित पार्किङ, ढल निकास, फोहोर व्यवस्थापन र सार्वजनिक स्थलको अभावलाई योजनाबद्ध रुपमा सम्बोधन गर्न आवश्यक छ । सडक विस्तारसँगै पैदलयात्रीको सुरक्षा, साइकलमैत्री पूर्वाधार र हरियाली क्षेत्रको संरक्षणलाई नगरपालिकाले प्राथमिकता दिनुपर्छ।
पुराना बस्तीको इतिहास, स्थानीय संस्कृति र सम्पदाको अभिलेखीकरणले भैरहवाको पहिचान जोगाउन सहयोग पु¥याउन सक्छ । आधुनिक सहर बन्ने क्रममा पुराना बस्ती र तिनको सामाजिक इतिहास हराउनु हुँदैन ।

अबको भैरहवा ः व्यापारभन्दा माथि उठेको विकास
आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ । एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ; अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य सेवा र पर्यटनको सम्भावना छ ।
नारायणप्रसाद अग्रवालका लागि भैरहवाको भविष्य उज्यालो छ, तर त्यो भविष्य स्थानीय उत्पादन र रोजगारीसँग जोडिनुपर्छ । किसानले उत्पादन बढाउन सक्ने वातावरण, उद्योगले प्रतिस्पर्धी लागतमा उत्पादन गर्न पाउने नीति र स्थानीय श्रमिकले रोजगारी पाउने अवस्था आवश्यक रहेको उनको भनाइ छ ।
“देशका मानिसले उन्नति गरे देशको विकास आफैँ हुन्छ,” उनी भन्छन्, “देशको पैसा बाहिर जानेभन्दा बाहिरबाट पैसा भित्रिने वातावरण बनाउनुपर्छ ।”
उनको यो भनाइ भैरहवाको आर्थिक विकासका लागि महत्वपूर्ण सन्देश हो । उद्योग स्थापना, सडक निर्माण र विमानस्थल सञ्चालनको अन्तिम उद्देश्य स्थानीय अर्थतन्त्र बलियो बनाउनु, रोजगारी सिर्जना गर्नु र नागरिकको जीवनस्तर सुधार्नु हुनुपर्छ ।
विश्व शहरीकरण दिवसको सन्दर्भमा भैरहवाको यात्राले एउटा स्पष्ट पाठ दिन्छ—सहरको विकास भनेको जनसंख्या र भवनको संख्या बढ्नु मात्र होइन । त्यसले उत्पादन बढाउनुपर्छ, अवसर सिर्जना गर्नुपर्छ र नागरिकलाई सुरक्षित तथा सम्मानजनक जीवन दिनुपर्छ ।
कुनै समय ढुंगैढुंगाको बाटो, झाडी र छरिएका बस्तीबीच सीमित रहेको भैरहवा आज नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार बन्ने सम्भावनासहित अघि बढिरहेको छ । अबको चुनौती त्यसलाई व्यवस्थित, समावेशी र उत्पादनमुखी सहर बनाउनु हो । लुम्बिनीको प्रवेशद्वार र नेपाल–भारत व्यापारको केन्द्रका रुपमा रहेको भैरहवाले आफ्नो ऐतिहासिक विरासतलाई आधुनिक आर्थिक अवसरसँग जोड्न सक्यो भने यसको विकास स्थानीय उपलब्धिमा मात्र सीमित रहने छैन; यसले समग्र नेपालको अर्थतन्त्रलाई समेत बलियो बनाउन योगदान पु¥याउनेछ ।
राधेश्याम विश्वकर्मा, नेपाल न्यूज बैंक
सबै तस्विर संकलनकर्ता : रविजंग कार्की



