बडादशैँ आश्विन शुक्ल सप्तमी: आज घर घरमा फूलपाती भित्र्याइँदै

Headlines संकृति - सम्पदा

बडादशैँअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती आज घरघरमा भित्र्याइँदैछ ।

घटस्थापनाका दिनदेखि विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघरमा उखु, हलेदो, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र र अन्य नयाँ पालुवासमेत भित्र्याउने गरिन्छ ।

फुलपाती भित्र्याउन नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निर्धारण गरेको शुभ साइतमै फुलपाती भित्र्याइदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ । घर–घरमा हर्षबढाइँका साथ फुलपाती भित्र्याउँछन् । प्राचीन कालदेखि नै दरबार, कोट र घर–घरमा फूलपाती भित्र्याउने परम्परा छ । आधुनिक नेपाल निर्माणपछि गोरखाबाट फूलपाती ल्याएर हनुमानढोकामा भित्र्याउने चलन अझै कायम छ ।

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौवटी देवीको प्रतीकको रूपमा भित्राई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ नौ वटै देवीको विधिपूर्वक पूजा गर्ने वैदिक विधि छ ।

हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म गोरखा दरबारको दशैँघरका पुजारीसहित मगर जातिका छ जनाले फूलपाती ल्याउने र जीवनपुरदेखि जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्याण्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने परम्परा छ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस टीका थाप्न आफ्नो पुख्र्यौली थलो फर्कने क्रम शुरु भएको छ ।

गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँमाथि विजय प्राप्त गरेपछि गोरखाबाट फूलपाती ल्याएर काठमाडौँको हनुमानढोकास्थित नासलचोकमा भित्र्याउने परम्परा रहेको छ । फूलपातीमा गुर्जुको पल्टन गोर्खाली सेनाको प्रतीकका रुपमा अझै रहेको छ ।